१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिसो जम्मू–कश्मीरको तातो इतिहास: भारत–पाकिस्तान बिचको अन्तहीन तनाव

विभाजन, विवाद र झगडाको इतिहास

सन् १९४७ मा दुई सय वर्ष लामो बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्र भएपछि भारतीय उपमहाद्वीप (भारत र पाकिस्तान) विभाजित भयो। धर्मका आधारमा भएको यो विभाजनपछि भारतलाई धर्मनिरपेक्ष राष्ट्र र पाकिस्तानलाई इस्लामिक गणतन्त्र बनाइयो।

भारत र पाकिस्तान विभाजन गर्दा दुई देशको बिचमा सीमा रेखा कोर्ने जिम्मेवारी वकिल सर सिरिल रेडक्लिफलाई दिइएको थियो। उनी पहिले कहिल्यै भारत आएका थिएनन्। रेडक्लिफले कोरेको सीमाङ्कनपछि लाखौँ मानिस विस्थापित भए। विस्थापनका क्रममा साम्प्रदायिक हिंसा भयो । र, लामो तनावको आधार कोरियो। 

सीमांकनकर्ता सर सिरिल रेडक्लिफ। र, विभाजनपछि विस्थापितहरूको भिड

विभाजनको सुरुवात

हिमाली र उच्च पहाडी क्षेत्रमा अवस्थित जम्मू-कश्मीर मुस्लिम बाहुल्य क्षेत्र थियो। तर त्यहाँ शासक भने हिन्दु महाराजा हरि सिंह थिए। हिन्दु राजा भारतमा मिसाउन चाहन्थे, बहुसंख्यक मुस्लिम समुदाय र पाकिस्तानी नेताले जम्मू-कश्मीरलाई पाकिस्तानमा गाभ्न चाहेका थिए। 

यही कारण विवाद सिर्जना हुन पुग्यो। हरि सिंहले भारतमा विलय हुने निर्णय लिएपछि सन् १९४७-४८ को पहिलो भारत–पाकिस्तान युद्ध निम्त्यायो। अहिले भारतले आफूलाई ठुलो लोकतन्त्र र उदीयमान आर्थिक शक्तिका रूपमा स्थापित गरेको छ भने पाकिस्तानले सैन्य शक्ति र इस्लामिक पहिचानमा जोड दिएको छ। 

महाराजा हरि सिंह

यो विभाजनले दुवै देशको सामाजिक र राजनीतिक संरचनालाई प्रभावित गरेको छ। जवाहरलाल नेहरुको नेतृत्वमा भारतले औद्योगिकीकरण र लोकतान्त्रिक मूल्य अँगाल्यो भने मोहम्मद अलि जिन्नाको दृष्टिकोणमा पाकिस्तानले इस्लामिक एकतामा आधारित राष्ट्र बनायो। कश्मीर विवाद यो तनावको मुख्य कारण बन्यो, जसले दक्षिण एसियाको भूराजनीतिलाई जटिल बनाइरहेको छ। विभाजनको हिंसाले छोडेका सामाजिक घाउहरू आज पनि दुवै देशको सम्बन्धमा देखिन्छ।

पण्डित जवाहरलाल नेहरु र मोहम्मद अलि जिन्ना

विभाजनदेखि नै दुई देश सीमा विवाद मात्रै नभएर हरेक क्षेत्रमा एक अर्काप्रति आक्रामक हुने गरेका छन्। भारत र पाकिस्तानबिचको तनाव कश्मीर विवाद, सीमा पार आतङ्कवाद र भूराजनीतिक प्रतिस्पर्धाबाट आएको छ। सन् १९४७ को विभाजनपछि दुवै देशले चार ठुला युद्ध (सन् १९४७-४८, १९६५, १९७१ र १९९९) र तमाम साना झडपको अनुभव गरेका छन्।

पहिलो युद्धमा पाकिस्तान समर्थित जनजातीय लडाकुले कश्मीरमा आक्रमण गरेका थिए। भारतको नेतृत्व जवाहरलाल नेहरु र लुई माउन्टब्याटनले गरे भने पाकिस्तानको मोहम्मद अलि जिन्ना र लियाकत अलि खानले गरे। सन् १९४९ मा संयुक्त राष्ट्रको मध्यस्थतामा युद्ध विराम भयो। नतिजा कश्मीरको दुई तिहाइ भारत र एक तिहाइ पाकिस्तानको कब्जामा गयो। कश्मीरलाई लिएर दुवै देशको आ–आफ्नो दाबी रहे पनि नियन्त्रण रेखा (एलओसी) बनेको छ।

सन् १९६५ को दोस्रो युद्धमा पाकिस्तानले ‘अपरेसन जिब्राल्टर’ मार्फत कश्मीरमा विद्रोह भड्काउन खोज्यो। भारतको नेतृत्व लालबहादुर शास्त्रीले गरे भने पाकिस्तानको नेतृत्व अयुब खानले गरेका थिए। सन् १९६६ को तासकन्द सम्झौताले युद्ध टुंग्याए पनि कसैले निर्णायक जित हासिल गरेन।

सन् १९७१ को तेस्रो युद्धमा भारतले बंगाली राष्ट्रवादी आन्दोलन (मुक्ति वाहिनी)लाई समर्थन गर्‍यो। यस निर्णायक लडाइँले स्वतन्त्र बंगलादेशको जन्म भयो । इन्दिरा गान्धीको नेतृत्वमा भारतले ९३ हजार पाकिस्तानी सैनिकलाई बन्दी बनायो भने याह्या खानको पाकिस्तानले ठुलो हार बेहोर्‍यो र आधा मुलुक नै गुमाउनुपर्‍यो।

सन् १९९९ को कारगिल युद्धमा  भारतले अटल बिहारी वाजपेयीको नेतृत्वमा पाकिस्तानी घुसपैठकारीलाई हटायो। पाकिस्तानमा नवाज सरिफ र सैन्य प्रमुख परवेज मुशर्रफ नेतृत्वको पाकिस्तानले अन्तर्राष्ट्रिय दबाबमा पछि हट्नुपरेको थियो। 

आतङ्कवाद

आतंकवादी हमलाले भारत–पाकिस्तान सम्बन्धलाई सधैँ जटिल बनाउने गर्छ। सन् २००८ को मुम्बई हमलामा लस्कर–ए–तैयबाले १६६ जनाको ज्यान लियो। मनमोहन सिंहको नेतृत्वमा भारतले विश्वव्यापी समर्थन पायो, तर युसुफ रजा गिलानीको पाकिस्तानमाथि आतंकवादी संरक्षणको आरोप लाग्यो। अजमल कसाबको पक्राउले लस्करको संलग्नता पुष्टि गर्‍यो । तर पाकिस्तानले कारबाही नगरेको आरोप लगाउँदै भारतले सधैँ प्रश्न गरिरह्यो। भारतले आरोप लगाए पनि पाकिस्तानले कहिल्यै पनि प्रत्यक्ष संलग्नता स्वीकार गरेन्। 

सन् २०१६ को उरी हमलामा जम्मू-कश्मीरमा १९ सैनिक मारिए। नरेन्द्र मोदीको नेतृत्वमा भारतले जैस–ए–मोहम्मदविरुद्ध २९ सेप्टेम्बरमा सर्जिकल स्ट्राइक गर्‍यो, जसलाई नवाज सरिफको पाकिस्तानले अस्वीकार गर्याे। कश्मीरमा आतंकवादको मुद्दा फेरि उजागर भयो। 

सन् २०१९ को पुलवामा हमलामा ४० अर्धसैनिक मारिए। भारतले २६ फेब्रुअरीमा बालाकोटमा जैस-ए-मोहम्मदको शिविरमा हवाई हमला गर्‍यो। पाकिस्तानले २७ फेब्रुअरीमा जवाफी हवाई आक्रमण गर्‍यो। सोही वर्ष भारतीय पाइलट अभिनन्दन वर्तमानको विमान खसालियो। तर उनलाई १ मार्चमा शान्तिका लागि पहल भन्दै पाकिस्तानबाट रिहा गरियो।

सन् २०२५ को पहलगाम हमलामा एक नेपालीसहित २८ पर्यटक मारिए। नरेन्द्र मोदीको नेतृत्वमा भएको भारतले लस्कर–ए–तैयबासँग सम्बद्ध ‘द रेजिस्टेंस फ्रन्ट’ लाई दोषी ठहरायो। जवाफमा कूटनीतिक सम्बन्ध तोडेर इन्डस सिन्धु जल सम्झौता स्थगित गर्‍यो  र सीमा बन्द गर्याे। शहबाज सरिफको पाकिस्तानलाई चीनको समर्थन छ, तर भारतलाई अमेरिका र युरोपको बलियो साथ छ। यो हमलाले कश्मीरको शान्ति र पर्यटनमा ठुलो धक्का पुगेको छ। भारतले फेरि जवाफी कारबाही गर्ने कुराले यस क्षेत्रमा तनाव जारी छ। पाकिस्तानमाथि कश्मीर स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गर्ने समूहलाई चीनसँग मिलेर साथ दिने गरेको आरोप भारतले लगाउँदै आएको छ। जुन आरोप दुवै देशले इन्कार गरिरहेका छन्।

भारतले जस्तै पाकिस्तानले पनि भारतमाथि आतंकवादलाई समर्थन गरेको आरोप लगाउँछ। सन् २०१४ मा तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले पेशावरको आर्मी पब्लिक स्कुलमा आक्रमण गर्‍यो, जसमा १३२ बालबालिकासहित १४९ जना मारिए। पाकिस्तानले भारतीय खुफिया एजेन्सी रअको संलग्नता भएको दाबी गर्‍यो। 

विशेष गरी सन् २०१६ मा कुल भूषण जाधवको गिरफ्तारीपछि यसमा थप बल पुग्यो। भारतले यी आरोप खारेज गर्दै आएको छ। सन् २०१६ मा पाकिस्तानले जासुसी र आतंकवादी गतिविधिको आरोपमा भारतीय नागरिक कुल भूषण जाधवलाई बलुचिस्तानबाट पक्राउ गरेको थियो। पाकिस्तानले जाधव भारतीय नौसेनाका अधिकारी भएको र बलुचिस्तानमा अस्थिरता फैलाएको दाबी गरे पनि भारतले उनलाई अपहरण गरिएको बताउँछ। सन् २०१७ मा जाधवलाई मृत्युदण्ड सुनाइयो, तर अन्तर्राष्ट्रिय न्यायालयले सजाय स्थगित गरायो। जाधव अझै पाकिस्तानको हिरासतमा छन्।

सन् २०२० मा बलुचिस्तान लिबरेशन आर्मी (बिएलए) ले कराँची स्टक एक्सचेन्जमा आक्रमण गर्‍यो , जसमा चार आतंककारी र चार सुरक्षाकर्मी मारिए। पाकिस्तानले भारतले बीएलएलाई समर्थन गरेको आरोप लगाएपछि भारतले यी दाबीलाई आधारहीन भन्यो। सन् २०२० मा इमरान खान नेतृत्वमा रहेको पाकिस्तानले डोजियर सार्वजनिक गरेर भारतले टीटीपी र बीएलएलाई समर्थन गरेको आरोप लगाए पनि अन्तर्राष्ट्रिय समुदायले यो गम्भीरतापूर्वक लिएन।

सन् २०२१ मा लाहोरको जोहार टाउनमा बम विस्फोट भयो, जसमा तीन जना मारिए भने २४ घाइते भए। पाकिस्तानले भारतीय एजेन्सी रअ र भारतीय नागरिक सतविन्दर सिंहलाई दोषी ठहरायो, तर भारतले यो आरोप पनि खारेज गर्‍यो। 

पछिल्लो घटना सन् २०२५ मा बिएलएले जाफर एक्सप्रेस रेल हाई ज्याक गर्‍यो, जसमा १०० भन्दा बढी मारिएको दाबी छ। पाकिस्तानले भारत र अफगानिस्तानलाई दोषी ठहरायो, तर दुवैले आरोप अस्वीकार गरेका छन्। पाकिस्तानमा चीनलक्षित धेरै आक्रमणमा भारत र अमेरिकीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता भएको दाबी पाकिस्तानले लगाउँदै आएको छ। बलुचिस्तान पाकिस्तानबाट अलग राष्ट्र बनाउन खोज्ने समूहलाई भारतले अफगानिस्तान, इरानजस्ता छिमेकी देशसँग मिलेर बल पुर्‍याउने गरेको आरोप इस्लामावादको छ। 

परमाणु शक्ति 

भारत र पाकिस्तान दुवै राष्ट्र परमाणु शक्ति सम्पन्न छन्। भारतले सन् १९७४ मा पहिलो परमाणु परीक्षण र सन् १९९८ मा पूर्ण हतियार विकास गरेको थियो। जवाफमा पाकिस्तानले पनि सन् १९९८ मा परीक्षण गर्‍यो। हाल भारतसँग १७२ र पाकिस्तानसँग १७० परमाणु वारहेड छन्। दुवैसँग ब्यालिस्टिक मिसाइल भारतको अग्नि-५, पाकिस्तानको शाहीन-३० छन्। परमाणु हतियारले पूर्ण युद्धको जोखिम कम गरेको छ।

भारतको ‘नो फर्स्ट युज’ नीति छ भने पाकिस्तानले पहिलो प्रयोगको अधिकार राख्छ। कश्मीर र बलुचिस्तानमा आतंकवादी हमलाले द्वन्द्व बढाएर परमाणु युद्धको खतरा निम्त्याउन सक्छ। परमाणु शक्तिले दुवै देशलाई संयमता अपनाउन बाध्य बनाएको छ। तर समय समयमा हुने साना ठुला घटनाले विश्व शान्तिलाई चुनौती दिने गरेको छ। संयुक्त राष्ट्र र विश्व शक्तिहरूले मध्यस्थता गर्न खोजे पनि कश्मीरमा दुवै देशको अडानले समस्या जटिल बनाउँछ। पाकिस्तान तेस्रो पक्षको हस्तक्षेप र कश्मीरलाई अलग देश वा आफ्नो भाग बनाउन चाहन्छ भने भारत यो द्विपक्षीय मुद्दा मान्छ र पाकिस्तान नियन्त्रित कश्मीर पनि आफ्नो  भएको दाबी गर्छ।

सैन्य र आर्थिक  तुलना

भारत विश्वको चौथो ठुलो सैन्य शक्ति हो। यसको सैन्य बजेट ७४ अर्ब डलर छ, १४ लाख सक्रिय सैनिक छन्। दिल्लीसँग २ हजार २०० भन्दा धेरै लडाकु विमान (राफेल, सु-३०, तेजस), १५० भन्दा धेरै नौ सैनिक जहाज (दुई विमानवाहकसहित) र ४ हजार ५०० भन्दा धेरै ट्यांक छन्। 

पाकिस्तानको सैन्य बजेट १० अर्ब डलर छ भने सात लाख सक्रिय सैनिक छन्। इस्लामवादसँग १ हजार ३०० भन्दा धेरै लडाकु विमान जे-१७, एफ-१६०, १०० भन्दा धेरै नौ सैनिक जहाज र ३ हजार २०० भन्दा धेरै ट्यांक छन्।

भारतको स्वदेशी रक्षा प्रणाली (तेजस, ब्रह्मोस मिसाइल) र अन्तर्राष्ट्रिय साझेदारी (राफेल, एस-४००० ले सैन्य शक्ति बलियो बनाएको छ। पाकिस्तानको ड्रोन प्रविधि र मिसाइल प्रणाली शाहीन-३० उल्लेखनीय छ। भारतको हवाई र नौ सैनिक शक्ति बलियो छ, तर पाकिस्तानको भौगोलिक लाभ (कश्मीरको पहाडी क्षेत्र) ले रक्षात्मक रणनीतिमा फाइदा दिन्छ।

भारतको कुल ग्राहस्थ उत्पादन (जिडिपी) झन्डै ४ खर्ब डलर छ, प्रति व्यक्ति आय २ हजार ८०० डलर छ। यसको वैदेशिक मुद्रा सञ्चय ६३० अर्ब डलर छ, जसले युद्धलाई लामो समय धान्न सक्छ।

पाकिस्तानको जिडिपी ३५० अर्ब डलर छ भने प्रति व्यक्ति आय १ हजार ५०० डलर छ। इस्लामवादसँग वैदेशिक मुद्रा सञ्चय १० अर्ब डलर छ, जसले आर्थिक संकटको जोखिम बढाएको छ। भारतको बलियो अर्थतन्त्रले कूटनीतिक र सैन्य क्षेत्रमा फाइदा दिन्छ।

यदि पूर्ण युद्ध भएमा भारतको ठुलो सेना, उन्नत प्रविधि (राफेल, ब्रह्मोस) र बलियो अर्थतन्त्रले फाइदा दिन सक्छ। यसको नौ सैनिक शक्तिले पाकिस्तानको कराची बन्दरगाह अवरुद्ध गर्न सक्छ। उता, पाकिस्तानको परमाणु हतियार, जे-१७ विमान, ड्रोन र कश्मीरको भू-भागले रक्षात्मक लाभ दिन्छ। परमाणु युद्धको जोखिमले ठुलो युद्धको सम्भावना कम गरेको छ। तर सर्जिकल स्ट्राइक जस्ता सीमित कारबाही हुने कुरा असम्भव छैन। अहिलेको ताजा अवस्था हेर्दा भारत लामो लडाइँमा जान सक्छ भने पाकिस्तान छोटो युद्धमा जान तयार देखिन्छ। दुवै देशमा जारी गरिबी, बेरोजगारीजस्ता समस्याबाट जनताको ध्यान भड्काउनका लागि युद्ध उपयुक्त विकल्प भएको धेरैको आंकलन रहेको छ। 

अन्तर्राष्ट्रिय समर्थन र भविष्य

भारतलाई अमेरिका, फ्रान्स, बेलायत, इजरायल र जापानजस्ता देशको समर्थन छ। क्वाड र रुससँगको सम्बन्धले भारतको कूटनीतिक शक्ति बढाएको छ। पश्चिमा देशहरू चीनलाई काउन्टर गर्नका लागि भए पनि भारतसँग नजिक हुनुपर्ने बाध्यता छ। अर्कोतिर भारतको ठुलो बजार र उदाउँदो अर्थतन्त्रको प्रभावबारे पनि हामीले माथि चर्चा गरेका छौँ। पाकिस्तानलाई चीन, टर्कीजस्ता देशहरूको साथ छ। सन् १९९९ को कारगिल र सन् २०२५ को पहलगाममा भारतलाई बलियो समर्थन प्राप्त छ। भारत र पाकिस्तानबिच सम्बन्ध सुधारको सम्भावना कम छ। कश्मीर विवाद, आतंकवाद र परमाणु हतियारले तनाव कायम राख्ने देखिन्छ। उरी, पुलवामा र पहलगाम जस्ता घटनाले तनाव बढाउँछ। 

करतारपुर कोरिडोर जस्ता पहलले सीमित सहयोगको आशा देखाउँछ। संयुक्त राष्ट्र र अमेरिकाले मध्यस्थता गर्न सक्छन्। कश्मीर विवाद समाधान र आतंकवादविरुद्ध संयुक्त रणनीति चाहिन्छ। व्यापार र सांस्कृतिक सम्पर्कले तनाव कम गर्न सक्छ, तर सहकार्यको बाटो कठिन छ। सन् १९४७ को विभाजनबाट सुरु भएको भारत-पाकिस्तान तनाव कश्मीर विवाद, आतंकवादी हमला र परमाणु शक्तिका कारण जटिल छ। भारतको सैन्य र आर्थिक शक्ति बलियो छ, तर पाकिस्तानको परमाणु हतियार र भौगोलिक लाभले युद्धलाई जोखिमपूर्ण बनाउँछ। शान्तिका लागि कश्मीर विवाद समाधान, आतंकवादविरुद्ध सहकार्य र कूटनीति आवश्यक छ, नत्र दक्षिण एसिया अस्थिर रहनेछ। 

-एजेन्सीको सहयोगमा।

प्रकाशित: १६ वैशाख २०८२ १७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App