अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसहितका देशहरूमा लगाएको पारस्परिक करलाई ‘सुन्दर कुरा’ भन्दै बचाउ गरेका छन्।
उनले ट्रुथ सोसियलमा लेखे, ‘चीन, युरोपेली संघ र अन्य देशहरूसँग हाम्रो ठूलो व्यापार घाटा छ। यो समस्यालाई कर शुल्कले मात्र समाधान गर्न सक्छ। यसले अमेरिकामा अर्बौं डलर ल्याइरहेको छ। एक दिन मानिसहरूले बुझ्नेछन् कि कर शुल्क अमेरिकाको लागि धेरै सुन्दर कुरा हो।’
ट्रम्पले धेरै युरोपेली र एसियाली देशहरूसँग कुराकानी गरेको दाबी गर्दै, ‘अब यी सबै देशहरू अमेरिकासँग सम्झौता गर्न चाहन्छन्’ भन्ने दाबी समेत गरेका छन्।
अप्रिल २ मा अमेरिकाले चीनसहित विश्वभरका देशहरूबाट आउने सामानमा आयात शुल्क लगाउने घोषणा गरेको थियो। जवाफमा चीनले १० अप्रिलदेखि लागू हुने गरी अमेरिकामाथि ३४ प्रतिशत कर शुल्क लगाएको छ। धेरै अर्थ विज्ञहरूले यो कदमले विश्वव्यापी ‘व्यापार युद्ध’ को खतरा बढाएको बताएका छन्।
उता, ट्रम्पका मुख्य सल्लाहकार एलन मस्कले भने फरक मत राखेका छन्। शनिबार इटालीका उपप्रधानमन्त्री माटेओ साल्भिनीसँगको प्रत्यक्ष छलफलमा मस्कले भने, ‘मलाई आशा छ, युरोप र अमेरिकाले शून्य करतर्फ अघि बढ्नेछन्, जसले युरोप र उत्तरी अमेरिकाबीच स्वतन्त्र व्यापार क्षेत्र बनाउनेछ।’ उनले थपे, ‘युरोप र उत्तरी अमेरिकाबीच यात्रा गर्न मानिसहरूलाई बढी स्वतन्त्रता हुनुपर्छ। यो मैले राष्ट्रपतिलाई दिएको सल्लाह हो।’
ट्रम्पले घोषणा गरेको पारस्परिक करको असर विश्वभरका शेयर बजारमा देखिएको छ। यो प्रभाव मस्कको कम्पनी टेस्लामा पनि परेको छ। ट्रम्पको यो निर्णय र कार्यशैलीलाई लिएर अमेरिकासहित विश्वका धेरै सहरमा विरोध प्रदर्शन पनि भइरहेको छ।
प्रकाशित: २५ चैत्र २०८१ ०८:४० सोमबार





