३० चैत्र २०८१ शनिबार
image/svg+xml २२:२२ अपराह्न
अन्तर्राष्ट्रिय

श्रीमती हत्या आरोपमा दुई वर्ष जेल बसे श्रीमान्, प्रेमीसँग होटलमा भेटिइन् श्रीमती

तस्बिर: बायाँ सुरेश र मल्लिगे र दायाँ मल्लिगे रेस्टुरेन्टमा कफी पिउँदै। (इन्डिया टुडे)

भारत, कर्नाटकको कोडगु जिल्लामा एक रोचक घटना सार्वजनिक भएको छ। एक आदिवासी मजदुर सुरेशमाथि भएको प्रहरी कारबाहीले गम्भीर प्रश्नहरू उठाएको छ। प्रहरीले उनलाई आफ्नी श्रीमती मल्लिगेको हत्या गरेको आरोपमा पक्राउ गरेको थियो। 

सोही आरोपमा सुरेश दुई वर्ष जेलमा पनि बसे। तर हालै उनकी श्रीमती मल्लिगे जीवित भेटिइन्। सुरेशका साथीहरूले मल्लिगेलाई उनको कथित प्रेमीसँग मदिकेरीको एक होटलमा कफी पिइरहेको देखेपछि नयाँ ट्विस्ट आएको हो। अदालतले प्रहरीलाई यो प्रकरणमा अप्रिल १७ सम्म जवाफ दिन आदेश दिएको छ। 

३५ वर्षीय सुरेश कुशलनगरको बसवनहल्ली क्षेत्रमा बस्छन्। नोभेम्बर २०२० मा उनले स्थानीय प्रहरी चौकीमा मल्लिगे (श्रीमती) हराएको भन्दै उजुरी दर्ता गराएका थिए। त्यसपछि प्रहरीले खोजी सुरु गर्यो। प्रहरीले जुन २०२१ मा बेट्टाडपुरा प्रहरीले एक अज्ञात महिलाको कंकाल फेला पार्यो। शवसँगै साडी, केही भित्री वस्त्र र एक जोडी चप्पल पनि फेला पारिएको थियो। 

प्रहरीले यो कंकाल मल्लिगेको हो भन्ने अनुमानका आधारमा सुरेशमाथि हत्याको आरोप लगायो। प्रहरीले सुरेश र उनकी सासू गौरीलाई कंकाल मल्लिगेकै हो भनेर पहिचान गर्न र कागजातमा हस्ताक्षर गर्न दबाब दिएको आरोप छ। शिक्षित नभए पनि सुरेशलाई हस्ताक्षर गर्न आउँछ। 

उनले भने, ‘प्रहरीले मलाई पक्राउ गर्न घरमा आउँदा मैले भनेको थिएँ कि हराएको उजुरी मैले नै दर्ता गरेको हुँ। तर उनीहरूले मेरो कुरा सुनेनन्, जबरजस्ती कागजातमा हस्ताक्षर गराएर जेल पठाए।’ 

सुरेश र मल्लिगेको विवाह १८ वर्षअघि भएको थियो। उनीहरूका एक छोरा र एक छोरी पनि छन्। सुरेश भन्छन्, ‘मल्लिगेको प्रेम सम्बन्धबारे मलाई थाहा थियो। तर मैले उजुरीमा कहिल्यै उल्लेख गरिनँ।’

सुरेश जेलमा हुँदा उनका बुबाले छोराको रिहाइका लागि धेरै वकिललाई भेटेका थिए। अन्ततः जनवरी २०२२ मा मैसूरका वकिल बीएस पाण्डु पुजारी निःशुल्क मुद्दा लड्न तयार भए। उनले आरोपपत्र र साक्षीको बयान पढे। अदालतसँग कंकाल र मल्लिगेकी आमाको डीएनए परीक्षण गर्न माग गरे। अदालतको अनुमतिपछि डीएनए परीक्षण सफल भयो।

सन् २०२३ मा आएको डीएनए रिपोर्टले कंकाल मल्लिगेको नभएको पुष्टि गर्यो। त्यसपछि पुजारीले कर्नाटक उच्च अदालतमा जमानतका लागि निवेदन दिए। सुरेशले सेप्टेम्बर २७, २०२३ मा जमानत पाएका थिए। तर एक लाख भारतीय रुपैयाँ धरौटी तिर्न नसक्दा उनी सेप्टेम्बर २०२४ सम्म जेलमै बस्नुपर्‍यो। 

रिहा भएपछि सुरेशले प्रहरीसँग मल्लिगेको खोजी गर्न आग्रह गरेपनि सहयोग पाएनन्।अप्रिल १ मा उनका साथीहरूले मल्लिगेलाई मदिकेरीको एक होटलमा कथित प्रेमीसँग कफी पिइरहेको देखे। उनीहरूले भिडियो बनाएर सुरेशलाई पठाए। यसबारे सुरेशले प्रहरीलाई खबर गरे। प्रहरीले पनि मल्लिगे जिवित भएको कुरा पुष्टि गरेको छ। 

अनुसन्धानमा मल्लिगे नोभेम्बर २०२० देखि विराजपेटको टी शेट्टीगेरी गाउँमा आफ्नो प्रेमीसँग बस्दै आएको खुलेको छ। टी शेट्टीगेरी गाउँ बसवनहल्लीबाट ३० किलोमिटर टाढा पर्दछ। प्रहरीले मल्लिगेलाई पनि अदालतमा पेश गरेको छ। अप्रिल २ मा पुजारीले मल्लिगेको फोटो र भिडियो अदालतमा बुझाए। 

अदालतको आदेशपछि मल्लिगेलाई मैसूरको पाँचौं जिल्ला तथा सत्र अदालतमा पेश गरिएको हो। मल्लिगेले अदालतमा भनिन्, ‘म नोभेम्बर २०२० देखि प्रेमीसँग बस्दै आएकी थिएँ। सुरेशलाई हत्याको आरोपमा पक्राउ गरिएको थाहा थिएन।’ अदालतले मैसूरका प्रहरी अधीक्षक विष्णुवर्धन एन र बेट्टाडपुरा प्रहरीका अनुसन्धान अधिकारीका नाममा जवाफ देउ जारी गर्यो। 

साथै, प्रहरीलाई यस घटनामा भएको लापरवाहीलाई लिएर वकिल पुजारी भन्छन्, ‘मल्लिगे जीवित छन् भने मृत महिला को थिइन्? प्रहरीले सुरेशलाई झूटो फसाउनुका साथै मृतकको पहिचान पनि गरेन।’ एजेन्सी

प्रकाशित: २३ चैत्र २०८१ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App