२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई चीनको 'टिट फर ट्याट' जवाफ : अमेरिकामाथि लगायो ३४ प्रतिशत कर

चीनले आउँदो बिहीबारदेखि लागू हुनेगरी अमेरिकी उत्पादनमा नयाँ कर शुल्कको घोषणा गरेको छ। 

शुक्रबार चीनले अप्रिल १० देखि सबै अमेरिकी उत्पादनमा ३४ प्रतिशत कर लगाउने घोषणा गरेको हो। चीनको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमा ३४ प्रतिशतको पारस्परिक कर लगाएपछि जवाफमा आएको हो। 

बेइजिङले यो जबाफी कदमलाई ट्रम्पको मुक्ति दिवस करको प्रतिक्रिया भनेको छ। चीनको वाणिज्य मन्त्रालयले दुर्लभ खनिजहरू (जस्तै सामेरियम र ग्याडोलिनियम) मा निर्यात नियन्त्रण कडा बनाउने बताएको छ। यी खनिजहरू कम्प्युटर चिप्स, विद्युतीय सवारीको ब्याट्री, एयरोस्पेस र एमआरआई स्क्यानमा प्रयोग हुन्छन्। 

साथै, चीनले अमेरिकी कुखुरा मासु आयातमा प्रतिबन्ध लगाएको छ। मासुमा प्रतिबन्धित औषधि फुराजोलिडोन, ढुसी र साल्मोनेलाको उच्च स्तर भेटिएको उसको आरोप छ। चीनले २७ अमेरिकी कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राखेको उल्लेख गरेको छ। 

बेइजिङले ट्रम्पको निर्णयविरुद्ध विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा अमेरिकाविरुद्ध मुद्दा दायर गर्ने पनि जानकारी दिएको छ। यसअघि फेब्रुअरीमा चीनले अमेरिकी कोइला र तरल प्राकृतिक ग्यासमा १५ प्रतिशत र कच्चा तेल, कृषि मेसिनरी तथा ठूला कारमा १० प्रतिशत कर लगाएको थियो। 

वाणिज्य मन्त्रालयले अमेरिकाको एकपक्षीय कर नीतिले डब्ल्यूटीओ नियम उल्लंघन गरेको र विश्व व्यापार प्रणालीलाई कमजोर बनाएको भन्दै कडा विरोध जनाएको छ। यद्यपि, व्यापार तनाव बढे पनि अमेरिकी र चिनियाँ सैन्य अधिकारीहरूले यस हप्ता सांघाईमा समुद्री सैन्य सुरक्षाबारे वार्ता गरेका छन्, जसले सम्बन्धमा केही सुधारको संकेत देखाउँछ। एपी

प्रकाशित: २२ चैत्र २०८१ १९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App