अमेरिकाले पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। यसका लागि कांग्रेसमा विधेयक पेस गरिएको छ। यस विधेयकको उद्देश्य पाकिस्तानमा राजनीतिक विपक्षीहरूको दमन, विशेष गरी पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीको लागि सैन्य नेतृत्वलाई जवाफदेही बनाउनु हो।
यो विधेयक अमेरिकी संसदमा रिपब्लिकन सांसद जो विल्सन र डेमोक्र्याटिक सांसद जिमी पनेटाले पेस गरेका हुन्। उक्त प्रस्तावले ग्लोबल म्याग्निट्स्की मानव अधिकार जवाफदेहिता ऐन अन्तर्गत पाकिस्तानी सैन्य अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन सिफारिस गर्दछ।
यदि विधेयक पारित भयो भने जनरल मुनिर र अन्य अधिकारीहरूले विदेशमा रहेको सम्पत्ति जफत गर्नुका साथै प्रतिबन्धहरूको सामना गर्नुपर्ने हुन सक्छ। यो विधेयकलाई डेमोक्र्याटिक सांसद रो खन्ना र इल्हान ओमार र रिपब्लिकन सांसद ज्याक बर्गम्यान जस्ता १० सांसदहरूले पहिले नै समर्थन गरिसकेका छन्।
यदि विधेयक पारित भयो भने अमेरिकाले १८० दिनभित्र पाकिस्तानको सैन्य नेतृत्वमाथि प्रतिबन्ध लगाउने छ। राजनीतिक दमनमा भूमिका खेल्ने जनरल मुनिर लगायत अन्य अधिकारीहरूको पहिचान गरिने छ। यी अधिकारीहरूले अमेरिकी भिसा पाउने छैनन् र उनीहरूको अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने छ।
विधेयकमा एउटा सर्त पनि राखिएको छ कि यदि सेनाको सत्तामा हस्तक्षेप कम भयो भने पाकिस्तानमाथि पहिले नै लगाइएका धेरै प्रतिबन्धहरू हटाउन सकिन्छ। एजेन्सी
प्रकाशित: १३ चैत्र २०८१ ०८:५९ बुधबार