अमेरिका, बेलायतसहित छ देशले आफ्ना नागरिकहरूलाई भारतको आसाम र उत्तरपूर्वी राज्यहरूमा यात्रा नगर्न चेतावनी जारी गरेका छन्। यी देशहरूले त्यस क्षेत्रको कानून व्यवस्था र सुरक्षा स्थिति कमजोर भएको भन्दै यस्तो सुझाव दिएका हुन्।
आसामका पर्यटन मन्त्री रञ्जीत कुमार दासले मंगलबार राज्य विधानसभामा कांग्रेस सांसद रकिबुद्दीन अहमदको प्रश्नको जवाफमा यो जानकारी दिएका थिए। चेतावनी जारी गर्ने देशहरूमा अमेरिका, बेलायत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा र स्विट्जरल्याण्ड समावेश छन्।
मन्त्री दासले यी देशहरूले ‘यात्रा प्रतिबन्ध’ लगाएको दाबी गरे पनि त्यो पूर्ण प्रतिबन्ध नभई सावधानीका लागि सुझाव मात्र हो। अमेरिकाले उत्तरपूर्वी राज्यहरूमा यात्रा गर्नुअघि ‘पुनर्विचार गर्न’, मणिपुरमा ‘यात्रा नगर्न’ सल्लाह दिएको छ।
बेलायतले मणिपुर र सीमावर्ती क्षेत्रमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ। अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड र स्विट्जरल्याण्डले पनि हिंसा र अस्थिरताको जोखिमका कारण सतर्कता अपनाउन भनेका छन्।
मन्त्री दासले भनेका थिए, ‘यी चेतावनीहरूले आसामको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ। हामी विदेश मन्त्रालयसँग समन्वय गरेर यो अवस्था सुधार्न र चेतावनी हटाउन प्रयासरत छौँ।’ यी सुझावहरू खासगरी मणिपुरमा सन् २०२३ देखि जारी जातीय हिंसा र उत्तरपूर्वमा लामो समयदेखिको अस्थिरतासँग जोडिएका छन्।
प्रकाशित: १४ चैत्र २०८१ १२:४८ बिहीबार