११ चैत्र २०८१ सोमबार
image/svg+xml ४:२१ पूर्वाह्न
अन्तर्राष्ट्रिय

दिल्ली उच्च अदालतका न्यायाधीशको निवासमा २४ करोड अवैध रकम फेला

भारतको दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासमा ठूलो मात्रामा अवैध नगद रकम फेला परेको छ। अधिकारीहरूका अनुसार, गत शुक्रबार राति (मार्च १४) दिल्लीस्थित वर्माको सरकारी निवासमा आगलागी भएको थियो। आगलागी नियन्त्रण गर्न तुरुन्तै दुईवटा दमकल घटनास्थलमा पठाइएको थियो।

उक्त आगलागीपछि उद्धार कार्यका क्रममा करिब २४ करोड नेपाली रुपैयाँ (लगभग १५ करोड भारतीय रुपैयाँ) बरामद गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो घटनाले भारतको न्यायपालिकाको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रारम्भिक जानकारीअनुसार, आगो नियन्त्रणमा ल्याउने क्रममा अग्निनियन्त्रक टोलीले न्यायाधीश वर्माको निवासबाट ठूलो परिमाणमा नगद फेला पारेको हो। यो रकमको स्रोतबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। आगलागीको समयमा न्यायाधीश वर्मा निवासमा थिएनन्। उनकी वृद्ध आमा घरमा भएको पाइएको छ। 

घटनालाई मध्यनजर गर्दै भारतको सर्वोच्च अदालतले तत्कालै न्यायाधीश वर्मालाई दिल्लीबाट इलाहाबाद उच्च अदालतमा सरुवा गरेको छ। साथै, सर्वोच्चले यो मामिलाको आन्तरिक छानबिन शुरू गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

प्रकाशित: ९ चैत्र २०८१ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App