२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कस्तो होला बुच र सुनिताको अबको स्वास्थ्य?

अन्तरिक्षमा बुच विल्मोर र सुनिता विलियम्स। तस्बिर: एजेन्सी

गत वर्षको नोभेम्बरमा सुनिता विलियम्स अन्तरिक्षमा हुँदा उनको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा निकै टिप्णणी भएको थियो। यिनै हल्लाबीच विलियम्सले नोभेम्बर १२ मा न्यु इङल्यान्ड स्पोट्र्स नेटवर्कसँगको एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मेरो तौल घट्दै छ भन्ने हल्लामा कुनै सत्यता छैन। म बिल्कुल ठिक छु।’

नोभेम्बर पहिलो साता न्युयोर्क पोस्टले एक नासा अधिकारीलाई उद्धृत गर्दै सुनिता विलियम्सको तौल घटिरहेको समाचार प्रकाशन गरेको थियो। ‘सुनिताले पर्याप्त क्यालोरी लिन सक्दिनन्, त्यसले उनको तौल घटाइरहेको छ’, समाचारमा भनिएको थियो। तर त्यतिबेलै अन्तरिक्ष एजेन्सी नासाका प्रमुख स्वास्थ्य तथा चिकित्सा अधिकारी डा. जेम्स डी. पोल्कले भने उक्त भनाइ सही नभएको बताएका थिए। ‘म सुनितालाई विगत २० वर्षदेखि चिन्छु र विश्वासका साथ भन्न सक्छु, सुनिता पहिले जस्तै देखिन्छिन्। उनको स्वास्थ्य एकदमै ठिक छ,’ उनले भनेका थिए।

मात्र ८ दिनको अन्तरिक्ष मिसनमा हिँडेका सुनिता विलियम्स र बुच विल्मोर प्राविधिक समस्याका कारण नौ महिनासम्म अन्तरिक्षमा अड्किएका थिए। उनीहरू २८६ दिन अन्तरिक्षमा बसेका थिए। विलियम्स र विल्मोर मंगलबार मात्र पृथ्वी फर्केका थिए।

नासाका अनुसार पृथ्वीमा फर्कनुअघि उक्त यानले पृथ्वीको ४ हजार ५ सय पटक परिक्रमा गरेको थियो। त्यसले प्रतिघण्टा १७ हजार ५ सय माइलको गतिमा १२ करोड माइल बराबरको यात्रा गरेको थियो। तर अहिलेसम्म सर्वाधिक अन्तरिक्षमा बस्ने रेकर्ड रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको नाममा छ।

मेक्सिको म्युजियम अफ स्पेस हिस्ट्रीका अनुसार पोल्याकोभले अन्तरिक्षमा ४३७ दिन १७ घण्टा र ३८ मिनेट बिताएका थिए। उक्त अवधिमा उनले पृथ्वीको सात हजार ७५ पटक परिक्रमा गरेका थिए।

मानव शरीरमा अन्तरिक्षले पार्ने प्रभाव अध्ययनका लागि पोल्याकोभ महत्त्ववपूर्ण मानिन्छन्।

सूक्ष्म गुरुत्वाकर्षणको प्रभाव

६२ वर्षीय विल्मोर र ५९ वर्षीय विलियम्सले लामो समयसम्म अन्तरिक्षमा रहन पाउँदा खुसी लागेको बताएका छन्। दुवैजना नौसेनाका अवकाशप्राप्त कप्तान हुन् र उनीहरूसँग यथेष्ट अन्तरिक्ष अनुभव छ। पृथ्वीमा फर्किए पनि उनीहरूलाई सामान्य जीवन बिताउन अझै कठिनाइ हुनेछ। पूर्ववत अवस्थामा फर्कन विशेष ‘रिकभरी’ प्रक्रियाबाट गुज्रिनुपर्छ। पृथ्वीमा अवतरण गरेपछि उनीहरूलाई क्याप्सुलबाट सिधै स्ट्रेचरमा राखेर चिकित्सकीय निगरानीमा पठाइएको छ। यो एक नियमित प्रक्रिया हो।

विशेषगरी सूक्ष्म गुरुत्वाकर्षणमा मांसपेसीहरू कमजोर हुन थाल्छन्, शरीरको सन्तुलन बिग्रन्छ र शरीरमा भएको तरल पदार्थ परिवर्तन हुन थाल्छ। सूक्ष्म गुरुत्वाकर्षण भनेको त्यस्तो अवस्था हो जब कुनै व्यक्ति वा वस्तु भारहीन हुन्छ। अन्तरिक्षमा गुरुत्वाकर्षणले काम नगर्ने भएकाले अन्तरिक्ष यात्रीहरू भारहीन हुन्छन्।

कस्तो प्रभाव पर्छ?

विज्ञहरूका अनुसार लामो समयसम्म अन्तरिक्षमा बस्दा स्वास्थ्यमा प्रत्यक्ष असर पर्छ। महिनौंसम्म अन्तरिक्षमा बस्दा मानव शरीर र मनोविज्ञानमा पनि परिवर्तन आउँछ। सबैभन्दा ठुलो परिवर्तन त्यतिबेला आउँछ जतिबेला अन्तरिक्ष यात्रीहरू सूक्ष्म गुरुत्वाकर्षणमा हुन्छन्। यस्तो अवस्थामा अन्तरिक्ष यात्री अन्तरिक्षयानभित्र वा बाहिर तैरिन थाल्छन्। उनीहरू हावामा झुन्डिएको जस्तो देखिन्छन्।

विज्ञका अनुसार यस अवधिमा मांसपेसीहरू प्रयोगमा नआउने हुनाले कमजोर हुन थाल्छन्। यस्तो अवस्थामा कुनै पनि व्यायाम उपकरण प्रयोग गर्न पनि सकिँदैन। नासाका अनुसार यसले हड्डीहरूलाई कमजोर बनाउँछ। हड्डीले शरीरको तौललाई धान्छन्। तर अन्तरिक्षमा पृथ्वीको गुरुत्वाकर्षणबिना हड्डीहरूले प्रत्येक महिना औसत १ प्रतिशत देखि १.५ प्रतिशत खनिज घनत्व गुमाउँछन्। 

यसबाहेक उचित आहार र व्यायामबिना अन्तरिक्ष यात्रीहरूको मांसपेसी पृथ्वीको तुलनामा सूक्ष्म गुरुत्वाकर्षणमा पातलो हुन्छ। नासाका अनुसार सूक्ष्म गुरुत्वाकर्षणमा रगत र ‘सेरेब्रोस्पाइनल फ्लुड’ तलबाट माथि सर्न थाल्छ र त्यतिबेला आँखा र मस्तिष्कको आकारमा परिवर्तन हुने प्रबल सम्भावना रहन्छ।

यसैगरी हड्डीबाट क्याल्सियम निस्कासन हुने भएकाले मिर्गौलामा पत्थरी हुने जोखिम पनि उत्तिकै हुन्छ। लामो समयसम्म सूक्ष्म गुत्वाकर्षणमा रहेर फर्केपछि पृथ्वीको गुरुत्वाकर्षणमा समायोजन हुन धेरै कठिनाइ हुने वैज्ञानिक मत छ। त्यसैले अन्तरिक्ष यात्रीलाई पृथ्वीमा आइपुग्नेबित्तिकै चिकित्सकको निगरानीमा राखिन्छ।

त्यतिबेला, सूक्ष्म गुरुत्वाकर्षणले पारेको प्रभावका कारण पृथ्वीको गुरुत्वाकर्षणमा शरीरलाई सन्तुलनमा राख्नु एक कठिन परीक्षा हुन जान्छ। यी यात्रुले सीधा हिँड्ने, सीधा उभिने र शरीरको सन्तुलन कायम राख्ने जस्ता चुनौती हरेक दिन सामना गर्नुपर्ने हुन्छ।

विकिरणको प्रभाव

पृथ्वीमा हुने विकिरणभन्दा अन्तरिक्षमा हुने विकिरण फरक छ। पृथ्वीलाई चुम्बकीय क्षेत्रले घेरेका कारण यसले मानिसलाई हानिकारक अन्तरिक्ष विकिरणबाट बचाइरहेको हुन्छ। तर जब कुनै व्यक्ति धेरै उच्च उचाइमा हुन्छ विकिरणको जोखिम बढ्छ। लामो समयसम्म यो स्थितिमा बस्दा अन्तरिक्ष यात्रीमा विकिरणबाट पीडित हुने जोखिम बढ्छ।

यस्तो अवस्थामा क्यान्सरको जोखिम बढ्छ र केन्द्रीय स्नायु प्रणाली प्रभावित हुने सम्भावना पनि उत्तिकै बढ्छ। सन् २०१७ मा प्रकाशित नासाको एक रिपोर्टअनुसार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अन्तरिक्ष यात्री ६ महिनाको बसाइमा औसतमा ८० देखि १६० मिलिसिबट्र्स विकिरणको सम्पर्कमा आउँछन्।

तर विकिरण फरकफरक प्रकारका हुन्छन्। एक मिलिसिबट्र्स अन्तरिक्ष विकिरण तीनवटा छातीको एक्स–रे बराबर हुन्छ। यसको तुलनामा, पृथ्वीमा एक औसत व्यक्ति प्रतिवर्ष मात्र दुई मिलिसिबट्र्स विकिरणको सम्पर्कमा आउँछ। अन्तरिक्षमा रहँदा व्यवहार परिवर्तन, थकान, तनाव र अनिद्रा सामान्य जस्तै हुन्छ।

गत जुन ६ मा बोइङ स्टारलाइनर अन्तरिक्ष यानको परीक्षण उडानमा यी दुई यात्रु अन्तरिक्षमा पुगेका थिए तर प्राविधिक गडबडीका कारण पृथ्वीमा अवतरण हुन ढिलाइ भएको हो। पृथ्वीको सतहबाट ४ सय ८ किलोमिटर माथि रहेको अन्तरिक्ष केन्द्रमा पुगेका उनीहरू यानको पर्पल्सन प्रणालीमा समस्या आएपछि सोही केन्द्रमा बसेका थिए र उनीहरू गएको यानलाई रित्तै फर्काइएको थियो। यसैबीचमा उनीहरूले विभिन्न प्रयोगलगायत संयुक्त रूपमा ‘स्पेस वाक’ अर्थात् यानबाट बाहिर निस्केर अन्तरिक्षमा हिँड्ने कार्य गरेका थिए।

अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्नसाथ डोनाल्ड ट्रम्पले त्यसअघिको प्रशासनले अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा अलपत्र पारेको आरोप लगाएका थिए। उनीहरूलाई इलन मस्कले फिर्ता ल्याउने बताएका थिए। उक्त अन्तरिक्ष केन्द्रमा रहँदा उनीहरूलाई ४ पटकसम्म अत्यावश्यक वस्तु पठाइएको थियो।  

प्रकाशित: ७ चैत्र २०८१ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App