२ असार २०८३ मंगलबार
image/svg+xml
शिक्षा

एसइईको नतिजामा लापरबाही, ‘रिटोटलिङ’ मा पाँच प्रतिशत नतिजा फेरबदल

राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) एसइईको नतिजामा लापरबाही गरेको भेटिएको छ।

बोर्डले प्रकाशित गरेको नतिजामा फेल भएका अर्थात् ननग्रेड प्राप्त गरेका विद्यार्थीहरूले चित्त नबुझेर पुनर्योगका लागि आवेदन दिएपछि पास भएको नतिजा आएको छ।

विद्यार्थीको भविष्यसँग जोडिएको एसइईमा बोर्डले लापरबाही गरेको भन्दै विद्यार्थीहरूले गुनासो गरेका छन्। 

सिम्बोल नम्बर ०३६००२८४ एल भएका विद्यार्थीले विषय कोड १०२१ अर्थात् अनिवार्य नेपालीमा एनजी (ननग्रेड) प्राप्त गरेको एसइई नतिजा आयो। तर उनले पुनर्योगका लागि दिएको आवेदनपछि उनको नतिजा फेरिएको छ। उनले सोही विषयमा १.६ जिपिए प्राप्त गरी पास भएको नतिजा आएको छ।

उनीजस्ता हजारौं विद्यार्थीको नतिजा फेरिएको छ। अर्को सिम्बोल नम्बर ०३६००७२४ जे भएका विद्यार्थीको पनि नेपाली विषयमा फेल भएको नतिजा आयो। तर उनले पुनर्योगका लागि दिएको आवेदनउपर बोर्डले प्रक्रिया अगाडि बढाउँदा जिपिए २ र सी ग्रेड आएको छ।

यसैगरी, सिम्बोल नम्बर ०३६००७५२ एलका विद्यार्थीले पनि एसइई नतिजामा एनजी पाए। पछि पुनर्योगका लागि दिएको आवेदनमाथि छानबिन हुँदा उनको पनि नतिजा परिवर्तन भएर सुरुमा फेल भएका ती विद्यार्थी पुनर्योगको नतिजापछि २.८ जिपिए प्राप्त गरी ‘बी’ ग्रेड मा पास भए।

माथिका सिम्बोल नम्बरहरू पुनर्योगपछि परिवर्तन भएका केही उदाहरण मात्र हुन्। बोर्डले यस्ता त्रुटि पहिलो पटक गरेको भने होइन। यस्ता त्रुटि वर्षेनि गर्दै आएको छ।

फरक यति हो, विगतमा यस्ता त्रुटिहरू कम हुने गरेका थिए भने यस पटक बढी देखिएको छ। गत वर्ष करिब ३ प्रतिशत नतिजा मात्र फेरबदल भएका थिए भने यस पटक ५ प्रतिशतभन्दा बढी नतिजा पुनर्योगबाट फेरबदल भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) एसइई २०८२ को रिटोटलिङ (पुनर्योग) नतिजा चरणबद्ध रूपमा सार्वजनिक गरिरहेको छ।

बोर्डले जेठ १७ गतेदेखि विभिन्न लटमा नतिजा प्रकाशित गर्दै आफ्नो वेबसाइटमा सार्वजनिक गर्दै आएको छ। पछिल्लो सातौं लटको नतिजा जेठ ३१ गते प्रकाशित गरियो।

कुल ३३९ विद्यार्थीले एसइई नतिजामा आफूले प्राप्त गरेको अङ्कमा चित्त नबुझेर पुनर्योगका लागि आवेदन दिएका थिए। ३३९ मध्ये १८ जनाको नतिजा फेरिएको छ।

नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले आवेदन दिएपछि उत्तरपुस्तिकामा प्राप्त अङ्कको पुनःजोड गरिएको थियो। बोर्डका अनुसार पहिलोदेखि सातौं लटसम्म हजारौं विद्यार्थीको नतिजा सार्वजनिक भइसकेको छ।

पहिलो लटमा ५,४०६, दोस्रोमा ४,३०६, तेस्रोमा ५,१७५, चौथोमा ९,१७५, पाँचौंमा ३,६११, छैटौंमा ३,८६२ तथा सातौं लटमा ३३९ विद्यार्थीको नतिजा समावेश गरिएको छ।

प्रकाशित नतिजामा कसैको नतिजा सुधार भएको छ भने कोही फेल भएका विद्यार्थी पनि चार जिपिए ल्याएर पास भएको देखिएको काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम मावि की प्रिन्सिपल रीता तिवारीले बताइन्।

‘यस पटक छिटो नतिजा प्रकाशन गर्न प्रत्येक परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र बनाइएको थियो। मेरो स्कुलमा पनि शिक्षकहरूबाट निकै मर्यादित, संवेदनशील र सावधानी अपनाएर उत्तरपुस्तिका परीक्षण गराएको थिएँ,’ प्रअ तिवारीले अनुभव सुनाइन्, ‘तर विगतझैँ यस पटक कोडिङ र डिकोडिङ भएन। परीक्षण गरी नम्बर बोर्डमा पठाइयो।’

उनले थपिन्, ‘स्कुलका प्रअहरू मर्यादित र संवेदनशील भएको केन्द्रहरूको नतिजा राम्रो आयो। तर जहाँ प्रअहरू मर्यादित हुनुभएन, त्यहाँ त्रुटि भयो। मधेश प्रदेशमा धेरै त्रुटि देखिन्छ।’

रिटोटलिङपछि केही विद्यार्थीको प्राप्ताङ्क र ग्रेडमा सुधार भएको बोर्डले जनाएको छ। यद्यपि अधिकांश विद्यार्थीको नतिजा यथावत् रहेको बोर्डको भनाइ छ।

रिटोटलिङ प्रक्रियामा उत्तरपुस्तिकाको पुनःमूल्याङ्कन नभई परीक्षकले दिएका अङ्क सही रूपमा जोडिएको छ वा छैन भन्ने मात्र परीक्षण गरिन्छ।

यस वर्षको एसइई परीक्षामा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी नन-ग्रेडेड (एनजी) भएका थिए। उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डको तथ्याङ्क छ। बोर्डले बाँकी रिटोटलिङ नतिजा पनि क्रमशः सार्वजनिक गरिरहेको जनाएको छ।

२०८२ को मिसिङ रिजल्ट (छुटेको नतिजा) सम्बन्धी पहिलो सूचीमा ८९० विद्यार्थीको नतिजा सार्वजनिक गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यी विद्यार्थीहरूको नतिजा मुख्य नतिजामा समावेश हुन नसकेको र पछि मूल्याङ्कन तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि प्रकाशित गरिएको हो।

प्रकाशित: २ असार २०८३ २१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App