३ चैत्र २०८१ आइतबार
image/svg+xml १८:४७ अपराह्न
अन्तर्राष्ट्रिय

बढ्दो राजनीतिक सक्रियताले टेस्लाको सेयरमा भारी गिरावट, देशभक्त भन्दै ट्रम्पले किने कार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाको चम्किलो रातो रङको मोडल एस कार खरिद गरेका छन्। ह्वाइट हाउसमा आयोजित एक विशेष कार्यक्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई समर्थन गर्न उनले यो कदम चालेका हुन्। टेस्लाको सेयरमा आएको भारी गिरावट र मस्कको बढ्दो राजनीतिक संलग्नताले उत्पन्न विवादका बीच ट्रम्पले टेस्लाको कार किन्ने घोषणा गरेका थिए।  

ह्वाइट हाउसमा भएको कार्यक्रममा मस्क स्वयं उपस्थित थिए। उनी पाँचवटा टेस्ला कार लिएर आएका थिए। ट्रम्पले मस्कको सुझावमा रातो मोडल एस छनोट गरे। करिब ८० हजार डलर मूल्यको यो कार ट्रम्पले कुनै छुटबिना पूर्ण मूल्य तिरेर खरिद गरेका छन्। 

ट्रम्पले भने, ‘मस्क मलाई छुट दिन चाहन्थे, तर मैले छुट लिएँ भने विपक्षीहरूले भन्नेछन् मैले नाफा कमाएँ।’ उनले यो कार ह्वाइट हाउसमा कर्मचारीहरूको प्रयोगका लागि राख्ने बताए। कारको चालक सिटमा बसेर ट्रम्पले भने, ‘वाह, यो त सुन्दर छ।’ यात्रु सिटमा बसेका मस्कले मजाक गर्दै भने, ‘सेक्रेट सर्भिसले यो कारलाई केही सेकेन्डमै ९५ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउँदा तपाईंलाई हृदयघात हुन सक्छ।’ तर, सुरक्षा कारणले ट्रम्पले कार चलाएनन्।  

मस्कप्रति ट्रम्पको प्रशंसा
कार खरिदपछि ट्रम्पले मस्कको खुलेर तारिफ गरे। उनले मस्कलाई महान र देशभक्त व्यक्ति भन्दै प्रशंसा गरेका छन्। उनले भने, ‘मस्कमाथि जे भइरहेको छ, त्यो गलत छ। मैले यो देखेपछि टेस्ला किन्ने निर्णय गरेँ। उनले अमेरिकामा नवप्रवर्तनलाई नयाँ उचाइमा पुर्‍याएका छन्।’ ट्रम्पले थपे, ‘मस्कले चारवटा सुन्दर कार ल्याएका थिए। मैले प्रेसको अगाडि एउटा किनेँ। यो सार्वजनिक खरिद थियो। यी कारहरू सुन्दर छन्।’  

राजनीतिक सक्रियता र टेस्लाको संकट
मस्क हाल ट्रम्प प्रशासनको सरकारी दक्षता विभाग (डोज) को नेतृत्व गरिरहेका छन्। डोजको सरकारी खर्च कटौती गर्नु रहेको छ। त्यस क्रममा मस्कले हजारौं जागिर कटौती गरेका छन्। अमेरिकाले विदेशमा पठाउने अनुदान सहयोग पनि रोकेका छन्। यसको विरोधमा अमेरिकाभरि प्रदर्शनकारीहरू टेस्ला स्टोरबाहिर भेला भएका छन्। ‘एलन जानुपर्छ’, ‘एलन मस्कलाई बर्खास्त गर’ जस्ता नारा लेखिएका ब्यानरसहितका प्रदर्शन भइरहेका छन्, जुन कहिलेकाहीं हिंसात्मक बनेका छन्।  

गत महिना टेस्लाको सेयर ३० प्रतिशतभन्दा बढीले घटेको थियो। सोमबार १५ प्रतिशतले ओरालो लागे पनि एक दिनपछि करिब ५ प्रतिशतले उकालो लाग्यो। यो सुधार जनवरीयता गुमेको हिस्साको तुलनामा सानो अंश मात्र हो। ट्रम्पको यो कदमले मस्क र टेस्लालाई समर्थनको सन्देश दिएको छ। तर कम्पनीको बजार चुनौती र राजनीतिक विवादलाई पूर्ण रूपमा सम्बोधन गर्न सक्नेमा शंका कायम छ।

प्रकाशित: २८ फाल्गुन २०८१ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App