२४ चैत्र २०८१ आइतबार
image/svg+xml १७:३३ अपराह्न
अन्तर्राष्ट्रिय

वामपन्थीलाई पाखण्डी भन्दै मेलोनीको दाबी: हिलो छ्यापे पनि जनताले हामीलाई रोज्छन्

इटालीकी प्रधानमन्त्री जर्जियो मेलोनीले विश्वभरका वामपन्थी नेतालाई पाखण्डीको संज्ञा दिएकी छन्। उनले डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र आफूजस्ता दक्षिणपन्थी नेताहरूको उदयले वामपन्थी नेतालाई चिन्तित बनाएको बताइन्।

मेलोनीले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा भिडियो कन्फरेन्सिङमार्फत सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेकी हुन्।

उनले ९० को दशकमा बिल क्लिन्टन र टोनी ब्लेयरले वैश्विक वामपन्थी सञ्जाल बनाउँदा उनीहरूलाई महान नेताको रूपमा हेरिएको स्मरण गरिन्। तर आज ट्रम्प, मेलोनी, जेभियर मिल्ली र मोदीले आफ्ना कुरा राख्दा वामपन्थीहरूले यसलाई लोकतन्त्रका लागि खतरा मान्ने गरेको उनको आरोप छ।

‘यो वामपन्थीहरूको दोहोरो चरित्र हो,’ उनले भनिन्, ‘हामी यो पाखण्डमा अभ्यस्त छौं। तर अब मानिसहरूले उनीहरूको झूटमा विश्वास गर्न छाडेका छन्। हामीमाथि जतिसुकै हिलो छ्यापे पनि, जनताले हामीलाई मतदान गर्छन्।’

सो अवसरमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको प्रशंसा गरिन्। ट्रम्पलाई प्रभावशाली र शक्तिशाली नेताको रूपमा चित्रण गर्दै उनले दक्षिणपन्थी नेताहरूको बढ्दो प्रभावले वामपन्थीलाई निराश बनाएको बताइन्। ‘विशेषगरी ट्रम्पको ह्वाइट हाउसमा पुनरागमनले वामपन्थीहरू त्रसित छन्,’ उनले थपिन्।

प्रकाशित: १२ फाल्गुन २०८१ १२:४६ सोमबार

खुशी 33.3 %
दुखी 11.1 %
अचम्मित 11.1 %
हास्यास्पद 22.2 %
क्रोधित 22.2 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App