२४ चैत्र २०८१ आइतबार
image/svg+xml १०:१३ पूर्वाह्न
अन्तर्राष्ट्रिय

अमेरिकी सहयोगमाथि भारतमा हंगामा: ट्रम्पको दाबीले भाजपा-कांग्रेसबीच टकराव

अमेरिकी युएसएआईडी सहयोगलाई लिएर भारतमा राजनीतिक हंगामा चुलिएको छ। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी कांग्रेसबीच यो मुद्दामा तीव्र विवाद देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले भारतको चुनावलाई प्रभावित गर्न करोडौं डलर खर्च गरेको दाबी गरेका छन्, जसले यो विषयलाई थप चर्चामा ल्याएको छ। ट्रम्पले हालै यो मुद्दालाई जोडतोडले उठाएका छन्।

राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा विदेशमन्त्री एस जयशंकरले ट्रम्प प्रशासनको दाबीलाई ‘स्पष्ट रूपमा चिन्ताजनक’ भनेका छन्। उनले भारत सरकारले यो विषयमा अनुसन्धान गरिरहेको पनि बताए। उनले भने, ‘हामीले युएसएआईडीलाई राम्रो नियतले भारतमा काम गर्न अनुमति दिएका थियौं, तर अब अमेरिकाबाट केही गतिविधि दुर्भावनापूर्ण भएको संकेत प्राप्त भएको छ। यो चिन्ताको विषय हो। यदि यहाँ केही गलत भएको छ भने देशले थाहा पाउनुपर्छ कि को-को यसमा संलग्न छन्।’

ट्रम्पले युएसएआईडीमार्फत भारतको चुनावी प्रक्रियामा हस्तक्षेप गर्न रकम प्रयोग भएको आरोप लगाएका छन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘अमेरिकी प्रशासनले युएसएआईडीका गतिविधि र कोषबारे दिएको जानकारी हामीले प्राप्त गरेका छौं। यो निकै चिन्ताजनक छ। यसले भारतको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको आशंका बढाएको छ। सम्बन्धित विभाग र एजेन्सीहरूले यसको अनुसन्धान गरिरहेका छन्।’

ट्रम्पले युएसएआईडीमार्फत भारतमा मतदाता सहभागिता बढाउन २ करोड १० लाख डलर खर्च गरिएको भन्दै बाइडेन प्रशासनको नियतमाथि प्रश्न उठाएका छन्। उनले भने, ‘भारतको मतदानमा २ करोड १० लाख डलर किन खर्च गर्नुपर्‍यो? मलाई लाग्छ, उनीहरू कसैलाई जिताउन खोजिरहेका थिए। हामीले भारत सरकारलाई यो कुरा बताउनुपर्छ, यो ठूलो कुरा हो।’

यसैबीच, कांग्रेस नेता पवन खेडाले शनिबार भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाबाट २ करोड १० लाख डलर लिएको हो वा होइन भनेर देशलाई जवाफ दिन माग गरेका छन्। उनले भाजपाले राहुल गान्धी र कांग्रेसलाई एक दिन चीनको एजेन्ट र अर्को दिन अमेरिकाको एजेन्ट भन्ने गरेको भन्दै कसरी कोही दुवैको एकसाथ एजेन्ट हुन सक्छ भनेर प्रश्न गरे। उनले थपे, ‘प्रधानमन्त्री मोदी चीन र अमेरिका दुवैसँग डराउँछन् भन्ने कुरा नै सत्य हो।’

प्रकाशित: ११ फाल्गुन २०८१ १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App