अमेरिका अहिले अवैध आप्रवासीको विषयलाई लिएर निकै चर्चामा रहेको छ। आप्रवासन नीतिलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा पनि रहने गरेका छन्। हालै उनले बेलायती राजकुमार ह्यारी र मेघन मार्कलको आप्रवासनलाई लिएर विवादित बयान दिएका छन्।
यसमा आफ्नो धारणा राख्ने क्रममा उनले मेघनको आलोचना गरेका हुन्। हालैको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीलाई अमेरिकाबाट निकाल्ने कुनै योजना नरहेको स्पष्ट पार्दै पत्नी मेघनको बारेमा तीखा टिप्पणी गरेका हुन्।
ट्रम्पले भने, ‘म ह्यारीलाई निकाल्न चाहन्नँ, म उनलाई एक्लै छोडिदिन्छु। उनीसँग आफ्नै समस्या छन्, खास गरी उनकी श्रीमतीसँग। उनी निकै खराब छिन्।’ यो टिप्पणी राजकुमार ह्यारी र श्रीमतीको अमेरिकामा बस्ने अधिकारबारे चर्चा हुँदै गर्दा आएको हो। राजकुमार ह्यारीले विगतमा लागूऔषध प्रयोग गरेको स्वीकारोक्तिपछि यो कुरा बहसमा छ।
राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ मा उनले आफूले युवावस्थामा लागूऔषध प्रयोग गरेको कुरा स्वीकार गरेपछि यो विवाद सुरु भएको हो। उक्त कुराले ह्यारीलाई अमेरिकामा आप्रवासीको रूपमा रहन अयोग्य बनाउन सक्छ। हेरिटेज फाउन्डेशन जस्ता संस्थाहरूले राजकुमार ह्यारीको आप्रवासन फाइल सार्वजनिक गर्न माग गरेका छन्।
राष्ट्रपति ट्रम्पले आफू ह्यारीलाई देश निकाला गर्ने कुरामा रुचि नराख्ने तर्क गरेका हुन्। ह्यारी हाल क्यालिफोर्नियाको मोन्टेसिटोमा आफ्नी श्रीमती मेघन मार्कलसँग बस्छन्। ‘म त्यो गर्न चाहन्न,’ ट्रम्पले भने।
गत वर्ष फेब्रुअरीमा, ट्रम्पले पूर्व राष्ट्रपति बाइडेनको प्रशासनमाथि ह्यारीलाई जोगाएको आरोप लगाएका थिए। यदि आफू ह्वाइट हाउस फर्के त्यसो नगर्ने उनको वाचा थियो। ह्यारीले रानीलाई धोका दिएको र त्यो अक्षम्य भएको ट्रम्पको तर्क थियो।
ट्रम्पले ह्यारीलाई ‘बिचरा ह्यारी’ भनेर सम्बोधन गरे। ट्रम्पले पहिले पनि राजकुमार ह्यारी र मार्कलको शाही परिवारसँगको मतभेदको बारेमा आलोचना गरिसकेका छन्। २०२३ मा उनले भनेका थिए, ‘मलाई यो विचार मन परेन कि उनीहरू (ह्यारी र मार्कल) यहाँ आउँदा अमेरिकी सुरक्षा पाउँदैछन्।’
शाही जोडी पनि ट्रम्पसँग मतभेद राख्दै आएको छ। विशेष गरी मार्कलले सन् २०१६ को राष्ट्रपति चुनावको समयमा ट्रम्पलाई विभाजनकारी र महिलाविरोधी भनेकी थिइन्। ट्रम्पले पछि मार्कलको टिप्पणीलाई घृणित भनेर जवाफ दिएका थिए। ट्रम्पले राजकुमार ह्यारीका भाइ राजकुमार विलियमको प्रशंसा गर्दै उनलाई ‘एक महान युवा’ भनेर सम्बोधन गरेका छन्।
हेरिटेज फाउन्डेशन, एक रूढिवादी थिंक ट्याङ्कले राजकुमार ह्यारीको आप्रवासन स्थितिको बारेमा जानकारीको लागि अमेरिकाको गृह सुरक्षा विभागलाई अनुसन्धान गर्न भनेको छ। राजकुमार ह्यारीले युवावस्थामा लागूपदार्थ प्रयोगको खुलासा गरेको भन्दै विभागले उनलाई अनुचित रूपमा भिसा प्रदान गरेको हुन सक्ने आरोप लगाएको छ।
एसोसिएटेड प्रेसका अनुसार एक न्यायाधीशले अझै पनि मुद्दामाथि विचार गरिरहेका छन्। सोही कारण ह्यारी दम्पत्तिको अमेरिका बसाई अनिश्चिततामा हुन सक्ने चर्चाबीच ट्रम्पको यस्तो बयान आएको हो। ट्रम्पले यस विषयमा भनेका छन्, ‘यदि उनले झुट बोलेका छन् भने, हामीले उचित कदम चाल्नुपर्छ।’ तर, उनले राजकुमार ह्यारीलाई निकाल्ने निर्णयबाट टाढा रहने स्पष्ट संकेत भने दिएका छन्।
अमेरिकाले अहिले विश्वभरबाट आएका अवैध आप्रवासीलाई देशनिकाला गरिरहेको छ। दक्षिण अमेरिका, अफ्रिका र एशियाका आप्रवासीलाई लक्षित गरेर उनको अभियान जारी छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २७ माघ २०८१ ०९:२६ आइतबार





