अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जवाफी कदम चालेका छन्। ट्रम्पले क्यानडाबाट आयातित वस्तुमा २५ प्रतिशत शुल्क लगाउने आदेशमा हस्ताक्षर गरेपछि, प्रधानमन्त्री ट्रुडोले क्यानडाले पनि जवाफी शुल्क लगाउने घोषणा गरे।
ट्रुडोले अमेरिकी जनतासँग प्रत्यक्ष कुरा गर्न चाहेको बताउँदै, यो निर्णयले मूल्य र अमेरिकी अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने बताए। उनले आफ्नो सरकारले १५५ अर्ब डलर मूल्यका अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने जानकारी दिएका छन्। क्यानडाका कम्पनीहरूलाई समय दिन मङ्गलबारदेखि ३० अर्ब डलर मूल्यका उत्पादनमा यो शुल्क लागू हुनेछ, बाँकी १२५ अर्ब डलरका उत्पादनमा आगामी २१ दिनभित्र लागू हुने उनको भनाइ छ। यद्यपि, उनले यो १५५ अर्ब डलर क्यानेडियन डलर वा अमेरिकी डलर हो भन्ने खुलाएनन्।
यसअघि ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका थिए, ‘संयुक्त राज्य अमेरिकाले पुष्टि गरेको छ कि उसले धेरै क्यानाडेली सामानहरूमा २५ प्रतिशत कर लगाउन चाहन्छ, र ऊर्जामा १० प्रतिशत कर लगाउन चाहन्छ, फेब्रुअरी चारदेखि लागू हुन्छ।’ उनले थपे, ‘मैले आज सरकारमा रहेका मुख्य मन्त्रीहरू र हाम्रो मन्त्रिपरिषद्सँग भेट गरेको छु, र म छिट्टै मेक्सिकोका राष्ट्रपति आन्द्रेस मैनुअल लोपेज ओब्राडोरसँग कुरा गर्नेछु।’
वास्तवमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेको जानकारी ट्रुथ सोशलमा दिएपछि ट्रुडोले जवाफ दिएका हुन्। ट्रम्पले यो निर्णय अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) मार्फत गरिएको भनेका छन्।
प्रकाशित: २० माघ २०८१ ०९:२६ आइतबार





