११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी हवाई दुर्घटनामा ६७ जनाकै मृत्युको आशंका

अमेरिकाको रेगन नेसनल एयरपोर्टमा दुर्घटना हुँदा पोटोम्याक नदीमा खसेको विमानमा सवार यात्रुको खोजी गरिँदै। तस्बिर: रासस/एएफपी

अमेरिकाको राजधानी वासिङ्टन डिसी सहरबाहिर रेगन नेसनल एयरपोर्टमा बिचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको हवाईजहाज र सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको छ। बुधबार राति दुर्घटनामा परेको हवाईजहाजमा ६४ जना र हेलिकोप्टरमा तीन अमेरिकी सेना सवार रहेको बताइएको छ।

बिहीबार साँझसम्म २८ जनाको शव फेला परेको र बाँकी सबैको दुर्घटनामा मृत्यु भएको आशंका गरिएको बिबिसीले बताएको छ। दुर्घटना भएको दृश्यलाई केही क्यामेराले कैदसमेत गर्न भ्याएका थिए। जसमा विमानस्थलबाट उड्दै गरेको हवाईजहाज अवतरण गर्ने तयारीमा रहेको र हेलिकोप्टरसँग ठोक्किएको देखिएको छ।

दुर्घटनामा परेका यात्रुको उद्धार जारी रहेको अमेरिकी अधिकारीले बताएका छन्। आकाशमा दुर्घटना भएपछि विमानका दुई ठुला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धारकर्मीलाई ‘अत्यन्त कठिनाइ’ भएको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताए।

उनले भने, ‘करिब तीन आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेका तर तेज हावा, रातको समय, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाइ भइरहेको छ।’

रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समा एक सूचना जारी गर्दै लेखेको छ, ‘तत्कालका लागि सबै उडान स्थगित गरिएको छ।’ एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सिबिएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकोप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकोप्टर थियो। हेलिकोप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देशमार्फत भनेका छन्, ‘रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु। अवस्थाको अनुगमन भइरहेको छ।’ उनले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘मृतकका आत्मालाई भगवान्ले शान्ति प्रदान गरून्।’

अमेरिकामा यस किसिमको दुर्घटना निकै दुर्लभ मानिन्छ। पछिल्लो दुर्घटना सन् २००९ मा भएको थियो। त्यो बेला न्युयोर्कको बफेलोमा विमान अवतरण हुँदा दुर्घटना भएको थियो, जसमा ५० जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: १८ माघ २०८१ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App