भारत, छत्तीसगढको बिजापुरमा सुरक्षा बलसँगको मुठभेडमा मारिएका संदिग्ध माओवादीको संख्या १२ पुगेको छ। यसअघि बिहीबार प्रहरीले दश संदिग्ध माओवादी मारिएको जनाएको थियो।
प्रहरीका अनुसार, बिजापुरको पुजारी काँकेर क्षेत्रमा संदिग्ध माओवादी रहेको खबर पाएलगत्तै कारबाही गरिएको हो। यसमा एक हजार ८०० भन्दा बढी सुरक्षाकर्मीले पुजारी लंकाको ठूलो क्षेत्रलाई चारैतिरबाट घेरा हालेर कारबाही गरे। प्रहरीका अनुसार, शुक्रबार बिहानदेखि सुरु भएको भिडन्त राति अबेरसम्म चलेको थियो।
बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीले यस भिडन्तमा हालसम्म १२ माओवादी मारिएको बताए। प्रहरीका अनुसार, मर्ने माओवादी जनमुक्ति छापामार सेना र केन्द्रीय क्षेत्रीय समितिको बटालियन नम्बर १ का हुन्, तर अहिलेसम्म उनीहरुको पहिचान हुन सकेको छैन।
राज्यका मुख्यमन्त्री विष्णुदेव साईले यो अभियानका लागि सुरक्षाबललाई बधाई दिएका छन्। मुख्यमन्त्रीले भने, "हामी माओवादीको अन्धकार हटाएर प्रदेशमा शान्ति र विकासको ज्योति फैलाउन कटिबद्ध छौं।" एजेन्सी
प्रकाशित: ४ माघ २०८१ १४:३० शुक्रबार





