हावा चल्ने क्रम नरोकिएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आगलागी झनै बढेको छ। विगत ६ दिनयता जारी आगलागीमा परेर अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ। १३ जना बेपत्ता छन्।
लस एन्जलस वरपरमात्र अहिले चारवटा जंगलमा आगो लागिरहेको छ। त्यहाँ ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेकाले आगलागी तत्काल नियन्त्रणमा ल्याउन कठिन रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूले बताएका छन्।
आगामी १२ घण्टाभित्र हावाको गति अझै बढ्ने पूर्वानुमान छ। आगलागी नियन्त्रणमा सहयोग गर्न छिमेकी देशहरूले समेत नियन्त्रकहरू पठाउन थालेका छन्। क्यानाडा र मेक्सिकोबाट नियन्त्रकहरु क्यालिफोर्निया पुगेका छन्।
क्यालिफोर्नियाका छिमेकी राज्यहरु टेक्सास, न्यू मेक्सिको, कोलोराडो, उटा, नेभाडा, एरिजोना, ओरेगन र वाशिंगटनले पनि लस एन्जलसमा अग्नि नियन्त्रकहरू पठाएका छन्।
आगलागीबाट आफ्नो घरसहितको भौतिक सम्पत्ति गुमाएका लस एन्जलसबासीले पुनर्निर्माणको प्रयास सुरु गरिसकेका छन्। आफ्नो घरको भग्नावशेष भित्र विभिन्न सामग्रीहरू खोज्न सुरु गरेको समाचारहरूमा उल्लेख छ।
आगलागीबाट मालिबुमा मात्रै पूर्वी क्षेत्रमा एक तिहाइ भाग नष्ट भएको छ। आगलागीबाट अहिलेसम्म १३५ अर्ब डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।
हर्नुहोस् तस्बिरहरु। सबै तस्बिर: एएफपी
प्रकाशित: २८ पुस २०८१ १५:५६ आइतबार