भारतको छत्तीसगढमा पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य अभियुक्त सुरेश चन्द्रकार पक्राउ परेका छन्।
छत्तीसगढ प्रहरीले आइतबार हैदराबादबाट पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य अभियुक्त सुरेश चन्द्रकारलाई पक्राउ गरेको छ। ३३ वर्षीय मुकेश गत बुधबार रातिदेखि बेपत्ता भएका थिए। उनको शव स्थानीय ठेकेदार सुरेश चन्द्रकारको सेप्टिक ट्याङ्कमा क्षत–विक्षत अवस्थामा फेला परेको थियो।
यस घटनामा प्रहरीले सुरेश चन्द्रकारका दुई भाइ रितेश चन्द्रकार, दिनेश चन्द्रकार र कर्मचारी महेन्द्र रामटेकेलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। गत डिसेम्बरमा मुकेश चन्द्रकारले राज्यको माओवादी प्रभावित क्षेत्रमा सडक निर्माणमा भ्रष्टाचार भएको भन्दै समाचार बाहिर ल्याएका थिए।
त्यसपछि प्रदेश सरकारले उक्त सडक निर्माण ठेक्कामा छानबिन थालेको थियो। जनवरी १ तारिखको साँझ, पत्रकार मुकेश चन्द्रकारलाई उनको नाता पर्ने भाइ रितेश चन्द्रकारले घरमा खाना खान बोलाएका थिए। बस्तर प्रहरीले ४ जनवरीमा पत्रकारहरूलाई खाना खाने क्रममा रितेश र मुकेशबीच झगडा भएर हत्या भएको भनेको थियो।
छत्तीसगढको बस्तरमा भएको यो हत्या चर्चाको केन्द्रमा छ। माओवादी प्रभावित बस्तरमा पत्रकारिताको चुनौतिको बीचमा यो घटनालाई लिएर भारतीय पत्रकारहरूले सुरक्षामाथि प्रश्न गरिरहेका छन्। मुकेशले बस्तरमा माओवादीद्वारा अपहरण गरिएका सुरक्षाकर्मी र गाउँलेलाई रिहा गराउन महत्वपूर्ण भूमिका निभाउँदै आएका थिए।
उनले छत्तीसगढ राज्यमा भ्रष्टाचार र दशकौँ पुरानो माओवादी विद्रोहबारे व्यापक रूपमा रिपोर्टिङ गर्दै आएका थिए र लोकप्रिय युट्युब च्यानल ‘बस्तर जङ्क्सन’ सञ्चालन गर्थे। चन्द्रकार बेपत्ता भएको उनको परिवारले खबर गरेपछि प्रहरीले उनको मोबाइल फोन रेकर्ड ट्र्याक गरेको थियो, जसको आधारमा जनवरी ३ मा उनको शव फेला परेको थियो।
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले चन्द्रकारको मृत्युलाई ‘हृदयविदारक’ भन्दै जिम्मेवारहरूलाई ‘कडाभन्दा कडा सजाय’ दिने विश्वास दिलाएका छन्। रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा सञ्चालित विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत गत वर्ष १५९औँ स्थानमा छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २२ पुस २०८१ १४:१६ सोमबार