१७ पुस २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कम्तीमा ५० करोड डलर कारोबार गर्ने कम्पनीलाई मात्र समाचार!

समाचार कसलाई चाहिन्छ? पक्कै पनि हरेक तह र तप्कालाई। जो सूचना, ज्ञान र जानकारी चाहन्छ, उसलाई नै समाचार पढ्न चाहिन्छ। तर सन् २०२२ मा स्थापित अमेरिकाको सेफामोर कम्पनीले भने सर्वसाधारणका लागि नभई सी–सुइटहरूका लागि मात्र समाचार उत्पादन गर्ने भएको छ।

सी–सुइट तिनलाई भनिन्छ, जुन कुनै ठुला कम्पनीको ‘चिफ’ हुन्छन्। चिफबाट सुरु हुने पदग्रहण गरेकाहरूका लागि ध्यानमा राखेर सेफामोर कम्पनीले समाचार उत्पादन गर्ने भएको छ। उसको सुरुवाती समाचार यही जनवरीबाट संसारका ठुला कम्पनीका चिफहरूलाई मात्र जानेछ।

सेफामोर कम्पनी स्थापना हुँदा संसारका २० करोडभन्दा बढी अंग्रेजी भाषामा समाचार पढ्न रुचाउनेहरूका लागि केन्द्रित गरिएको थियो। अहिले सो नीतिमा परिवर्तन गर्दै कम्पनीले ‘चिफ’हरूका लागि मात्र समाचार उत्पादन गर्ने भएको छ। त्यसो त यो समाचार जुनसुकै कम्पनीका चिफले पढ्न पाउने छैनन्। कम्पनी आफैंले छानेका चिफलाई निमन्त्रणा दिएर मात्र यो समाचार प्राप्त हुनेछ। ती कम्पनीले वार्षिक रूपमा कम्तीमा ५० करोड डलरभन्दा बढीको व्यापार गरेको हुनुपर्ने सर्त सेफामोरले राखेको छ।

सेफामोरको समाचार दिने यो शैली अपनाउने अन्य कैयौं कम्पनी छन्। यो भिडमा कसैले सशुल्क बुलेटिनदेखि प्रायोजकसम्म ल्याउनेहरू छन्। हरेक वर्ष खिइँदै गएको आम्दानीलाई यस्ता विशिष्ट सेवामार्फत आम्दानी जोड्ने प्रयास सेफामोरको देखिन्छ।

सेफामोरका प्रमुख कार्यकारी तथा सहसंस्थापक जस्टिन स्मिथ भन्छन्, ‘२० वर्षअघिको प्राथमिकताभन्दा अहिले बिल्कुलै फरक भइसकेको छ र हाम्रो प्रयास उम्दा उदाहरण हो। हामी साना तथा मझौला कम्पनीको कुरा गरिरहेका छैनौं। संसारकै सबैभन्दा ठुला कम्पनीको ‘चिफ’ अर्थात् माइक्रोमार्केटको कुरा गरिरहेका छौं।’

उनी थप्छन्, ‘ठुला कम्पनीका प्रमुख कार्यकारीहरूबारे कसैले पनि सोचेका छैनन्। उनीहरूलाई चाहिने समाचार, सम्पादकीय र अन्य खजाना कसैले पनि दिइरहेका छैनन्। उनीहरू सबैभन्दा कम सेवाको मारमा परिरहेका छन्।’

द सिइओ सिग्नल न्युजलेटरलाई संसारकै ख्यातिप्राप्त सर्भे संस्था पिडब्लुसीले प्रायोजन गर्ने भएको छ। न्युजलेटरलाई फाइनान्सियल टाइम्सका पूर्वसम्पादक एन्ड्रयु एजक्लिफ–जोन्सनले सम्पादन गर्नेछन्। द सिइओ सिग्नलमा मिडिया उद्योगका भित्री कुरादेखि वासिङ्टन डिसीका गल्ली र संसद्सम्म के के भइरहेको छ भन्ने गुह्य जानकारी दिनेछ।

त्यसो त अमेरिकी मिडिया कम्पनी ब्लुमबर्गसँग बिजनेस न्युजलेटरको एउटा भिड नै छ, जसले म्यागेजिन प्रकाशनदेखि पडकास्टसम्म उत्पादन गर्छ। यस्तै प्रकारको काम द न्युयोर्क टाइम्सले द डिलबुक न्युजलेटरमार्फत गरिरहेको छ। डिलबुक त सन् २००१ देखि पाठकलाई सित्तैमा दिइरहेको छ। यस्तै द इन्फरमेसनले पैसा लिएर ग्राहक बनाउँदै कार्यकारीहरूलाई उनीहरूको रुचिका सूचना मात्र उपलब्ध गराइरहेको छ।

झन्डै सय वर्षको इतिहास बोकेको ‘फच्र्युन’ म्यागेजिनले भने यस्तै सेवा र विभिन्न इभेन्ट ठूला कम्पनी र ठूला सहरभन्दा साना कम्पनी र साना सहरलाई केन्द्रित गर्न थालेको छ। उनीहरूको सिइओ डेली न्युजलेटरका एक लाख ४० हजार सब्सक्राइबर छन्।

यस्तै १०७ वर्षको इतिहास बोकेको फोब्र्स म्यागेजिनले भर्खरै निजी सदस्यता क्लबअन्तर्गत स्पेनको राजधानी म्याड्रिडमा बृहत् कार्यक्रम आयोजना गर्ने तयारी थालेको छ। यस हिसाबले विशिष्ट व्यक्तिहरूका लागि विशिष्टीकृत समाचारको बाढी छ। यो बाढीमा को बग्नेछ र को टिक्ने छ, यो हेर्नु रोचक हुनेछ।

(द न्युयोर्क टाइम्सबाट भावानुवाद)

प्रकाशित: १३ पुस २०८१ ०६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App