१९ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्री नेतान्याहु विरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय अपराध अदालत(आइसिसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातान्याहु र पूर्व रक्षामन्त्री योआव ग्यालेन्ट विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यस्तै हमासका सैन्य कमान्डर मोहम्मद दिफ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बिबिसीले लेखेको छ ।

आइसिसीको प्रारम्भिक इजलासले इजरायलका तर्फबाट अदालतको अधिकार क्षेत्रमाथि दिइएको चुनौती खारेज गरेर पक्राउ पुर्जी नै जारी गरेको हो । 

उता हमासका कमान्डर दिफलाई इजरायलले मारिसकेको दाबी गरेको छ । तर आइसिसीले भने उनी मरेको नमानेर पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । 

आइसिसीका न्यायाधीशले हमास र इजरायलबिचको युद्धका क्रममा भएको मानवता विरुद्धको अपराधको दण्डका लागि पक्राउ पुर्जी जारी गरेको बताएका छन् । 

‘तीनै जना इजरायल र हमासबीच युद्धका दौरानमा युद्धको नियम र मानवताको विरुद्ध अपराधका लागि जिम्मेवार छन्,’ आइसिसीका न्यायाधीश भनेका छन्,‘जसका पर्याप्त प्रमाण र आधार छन् ।’ 

यद्यपि इजरायल र हमास दुवै पक्षले आइसिसीको आरोपलाई अस्वीकार गर्दै आएका छन् । 

अब आइसिसीले पक्राउ पुर्जी जारी गरे पनि त्यसको कार्यान्वयन हुने नहुने भन्ने विषय त्यसका सदस्य रहेका १२४ देशमाथि निर्भर रहनेछ । 

यसै वर्ष आइसिसीमा मुद्दा हालेका करिम खानले इजरायली प्रधानमन्त्री नेतान्याहु, पूर्व रक्षामन्त्री योआव ग्यालेन्ट, हमास कमान्डर दिफ, इस्माइल हानिया र याह्या सिनवारको विरुद्ध गिरफ्तारीको माग गरेका थिए । उनीहरूमध्ये हमासका तीनै जना कमान्डर इजरायलले मारिसकेको छ । मारेकै भनिएका दिफ विरुद्ध भने आइसिसीले पक्राउ पुर्जी जारी गरेपछि उनको अवस्थाबारे विश्वभर अनेक आशङ्का पैदा भएका छन् । 

प्रकाशित: ६ मंसिर २०८१ १९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App