६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति सीद्वारा युक्रेन युद्ध अन्त्य र गाजामा युद्धविरामको आह्वान

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा स्थायी युद्धविरामको प्रस्तावमाथि अमेरिकाको भिटो

चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन युद्ध अन्त्य गर्न अपील गर्दै गाजामा युद्धविरामको आह्वान गरेका छन्। ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमा उनले शान्तिका लागि थप सहयोग र युक्रेन संकटको राजनीतिक समाधानका लागि मार्ग प्रशस्त गर्न चाहेको बताएका हुन्।  

ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले पनि जिनपिङको अपील दोहोर्‍याउँदै युक्रेनमा युद्धको अन्त्य गर्न रोडम्यापमा जोड दिए। सिंगो विश्व सशस्त्र र राजनीतिक द्वन्द्वले जूझिरहेको बेला ब्राजिल र चीनले कूटनीति र संवादलाई पहिलो स्थानमा राखेको उनको भनाई थियो।  

चिनियाँ सञ्चारमाध्यमका अनुसार, जिनपिङले गाजामा जारी युद्ध चाँडो अन्त्य गर्न आह्वान गरेका थिए। युक्रेनमा शान्तिका लागि चीन र ब्राजिलको साझा रोडम्यापलाई रुसले समर्थन गरे पनि युक्रेनले त्यसलाई अस्वीकार गर्दै आएको छ। यस बीच, संयुक्त राष्ट्र सुरक्षा परिषदले गाजामा स्थायी युद्धविरामको लागि प्रस्तावमा मतदान गर्दा इजरायललाई समर्थन गर्दै अमेरिकाले भिटो गरेको छ। राष्ट्रपति लुला दा सिल्भाले २०२३ को सुरुमा सत्तामा फर्किएपछि चीन र संयुक्त राज्य अमेरिकासँग सम्बन्ध सुधार्ने प्रयास गरेका छन्।  

जी–२० शिखर सम्मेलनलाई ग्रुप अफ २० पनि भनिन्छ। यसले अन्तर्राष्ट्रिय आर्थिक मुद्दाहरूमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै विश्वव्यापी आर्थिक स्थायित्व, व्यापार र अन्य चुनौतिहरूको समाधानमा राय निर्धारण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। जी–२० मा भारत, अमेरिका, चीन, रुस, ब्राजिल, क्यानडा, अर्जेन्टिना, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, दक्षिण कोरिया, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत र युरोपियन युनियनका सदस्य राष्ट्रहरू समावेश छन्। एजेन्सी 

प्रकाशित: ६ मंसिर २०८१ ०८:३८ बिहीबार

#President Xi Jinping #Ukraine-Gaza