२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई बधाई दिँदै जेलेन्स्कीले सम्झाए सेप्टेम्बरको भेट

अमेरिकी राष्ट्रपति निर्वाचनमा जित सम्मुख पुगेका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई रसियासँग युद्धरत राष्ट्र युक्रेनका राष्ट्र भोलोदिमिर जेलेन्स्की बधाई दिएका छन् ।  निर्वाचनको अन्तिम नतिजा आउनु अगावै जेलेन्स्कीले ट्रम्पलाई बधाई दिँदै सेप्टेम्बरमा गरेको भेट स्मरण गराएका छन् । 

‘मलाई सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पसँगको हाम्रो उत्कृष्ट भेटको सम्झना छ । जब हामीले युक्रेन–अमेरिकाको बारेमा विस्तृत रूपमा छलफल गरेका थियौँ,’ जेलेन्स्कीले एक्समा लेखेका छन् । त्यसमा रणनीतिक साझेदारी, युद्धमा विजय योजना र  युक्रेन विरुद्ध रुसको आक्रमण अन्त्य गर्ने तरिकाबारे छलफल भएको जेलेन्स्कीले उल्लेख गरेका छन् ।

यस्तै उनले आफू विश्वमा ‘शक्ति मार्फत शान्ति’ निर्माण गर्ने ट्रम्पको दृष्टिकोणबारे  प्रतिबद्धताको कदर गर्ने पनि बताएका छन् । ‘यो ठिक सिद्धान्त हो, जसले व्यावहारिक रूपमा युक्रेनमा शान्ति ल्याउन सक्छ,’ जेलेन्स्कीले लेखेका छन् । आफू यो योजनालाई अमेरिका र युक्रेन मिलेर कार्यान्वयन गर्नेमा आशावादी रहेको पनि उनले लेखेका छन् । 

यो पनि पढ्नुहोस्

ट्रम्पलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

 

‘हामी राष्ट्रपति ट्रम्पको निर्णायक नेतृत्वमा बलियो संयुक्त राज्य अमेरिकाको युगको पर्खाइमा छौँ,’ जेलेन्स्कीले लेखेका छन्,‘हामी संयुक्त राज्य अमेरिकामा युक्रेनको लागि निरन्तर बलियो द्विपक्षीय समर्थनमा भर पर्छौँ ।’ यस्तै दुवै राष्ट्रलाई फाइदा हुने पारस्परिक लाभकारी राजनीतिक र आर्थिक सहयोगको विकास गर्न आफू इच्छुक रहेको जेलेन्स्कीले लेखेका छन् । उनले अगाडि भनेका छन्,‘युक्रेन युरोपको सबैभन्दा बलियो सैन्य शक्तिको रूपमा सहयोगीहरूको समर्थनसहित युरोप र ट्रान्सएट्लान्टिक समुदायमा दीर्घकालीन शान्ति र सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छौँ।’ 

यस्तै आफू अमेरिकासँग युक्रेनको रणनीतिक साझेदारीलाई सुदृढ गर्ने तरिकाहरूबारे ट्रम्पसँग छलफल गर्न तत्पर रहेको पनि जेलेन्स्कीले लेखेका छन् । 

अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजासँग रसिया–युक्रेनको युद्धलाई विश्व समुदायले चासोपूर्वक हेरिरहेको छ । युक्रेनले अमेरिका सहित पश्चिमा देशहरूको सहायताले नै आफूमाथि सन् २०२२ मा आक्रमण गरेको रुससँग रक्षात्मक लडाइँ लडिरहेको छ । ट्रम्पको जितपछि अमेरिकाले युक्रेनलाई गरिरहेको सहयोग जारी राख्छ कि राख्दैन ? भन्ने धेरैले आशङ्का गरिरहेका छन् । 

यो पनि पढ्नुहोस्

ट्रम्पले जितको घोषणा गर्दै भने: ४५ औँ र ४७ औँ राष्ट्रपतिका लागि धन्यवाद

 

प्रकाशित: २१ कार्तिक २०८१ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App