१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पोलियो खोपका लागि ‘तत्काल’ गाजामा युद्धविराम गर्न इयुको आग्रह

युरोपेली सङ्घ (इयु) ले गाजा पट्टीमा सबै बालबालिकालाई पोलियो खोप दिन अनुमति दिन ‘तत्काल’ युद्धविराम गर्न आग्रह गरेको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आगामी साताहरूमा सम्पूर्ण क्षेत्रमा दुई वटा खोप अभियानको योजना बनाएका छन्। यसमा छ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप २ पोलियोभाइरस (सिभिडिपिभी२) विरुद्ध मौखिक खोप उपलब्ध गराइने छ।

‘यी अत्यावश्यक अभियानहरूलाई सफल र समयमै कार्यान्वयन गर्न अनुमति दिन सबै पक्षको मानवीय विश्रामप्रति प्रतिबद्धता महत्त्वपूर्ण हुनेछ’, इयुका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले २७ सदस्यीय मुलुकहरूको ब्लकका तर्फबाट विज्ञप्तिमा भनेका छन्, ‘दश महिनाभन्दा धेरैको लडाइँ र विस्थापन, कुपोषण, आधारभूत स्वास्थ्य सेवाको अभाव र खराब सरसफाइको अवस्थाका कारण पहिलादेखि नै कमजोर भइसकेको जनसङ्ख्यामा फैलिएको महामारीबाट बच्न आवश्यक छ।’

राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख प्यालेस्टिनीमध्ये अधिकांश (यसमा करिब आधा बालबालिका छन्) विस्थापित भएका छन् र बढ्दो साना क्षेत्रहरूमा भरिएका छन्।

संयुक्त राष्ट्रसङ्घ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। गाजामा स्थिर पानी, फोहरको थुप्रो, गर्मीको उच्च तापक्रम र भीडभाडले महामारीका लागि प्रजनन स्थल बनाएको छ। रासस  

प्रकाशित: १४ भाद्र २०८१ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App