१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा स्मार्टफोनको प्रयोगले ८० करोड नागरिक गरिबीबाट बाहिर निस्कन सफल

स्मार्टफोनको प्रयोग ८० करोड भारतीयलाई गरिबी निवारणमा सहयोगी सिद्ध भएको एक अध्ययनले देखाएको छ।

द्रूत विकासका लागि डिजिटाइजेसनको प्रयोगमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय महासभाका ७८ औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले यस क्षेत्रमा भएको विकासले विगत ५–६ वर्षमा ८० करोड जनतालाई गरिबीबाट बाहिर निकाल्न सक्षम बताए।

उनले कसरी भारतका ग्रामीण क्षेत्रका मानिसहरूले स्मार्टफोनको माध्यमबाट भुक्तानी गर्न र बिलहरू तिर्न सक्षम भएको उदाहरण दिँदै यसले उनीहरूको समय र पैसासमेतलाई वचत गरेको बताए।

फ्रान्सिसले संयुक्त राष्ट्रको खाद्य र कृषि सङ्गठन (एफएओ) ले आयोजना गरेको ‘वर्तमान र भावी पुस्ताका लागि शून्य भोकतिर प्रगतिको गति’ विषयक छलफल कार्यक्रममा बताए।

भारतको प्रशंसा गर्दै उनले भने, ‘द्रूत विकासका आधारमध्ये डिजिटलाइजेसन एक हो। उदाहरणका लागि, भारतलाई हेर्नुहोस्। भारतले गत ५–७ वर्षमा केवल स्मार्टफोनको प्रयोग गरेर ८० करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्न सक्षम भएको छ।’

फ्रान्सिसले उच्च इन्टरनेट सेवाको विकासका कारण नै भारत ग्लोबल साउथका अन्य देशहरूको तुलनामा विकासोन्मुख रहेको जोड दिए।

‘बैङ्किङ प्रणालीसँग कहिल्यै सम्बन्ध नभएको भारतका ग्रामीण किसानहरू पनि आफ्ना सबै व्यवसायहरू स्मार्टफोनमार्फत लेनदेन गर्न सक्षम भएका छन्। भारतमा उच्च स्तरको इन्टरनेट पहुँचले ८० करोड मानिस गरिबीबाट मुक्त भएका छन्। डिजिटलाइजेसनको विकासको प्रारम्भिक चरणको रूपमा यस असमानतालाई सम्बोधन गर्न केही विश्वव्यापी पहल आवश्यक छ,’ युएनजीएका अध्यक्षले भने ।

डिजिटाइजेसनको विकास प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रमुख लक्ष्यमध्ये एक रहेको छ। पछिल्लो दशकमा देशमा डिजिटल भुक्तानी लेनदेनमा द्रूत वृद्धि देखिएको छ। रासस

प्रकाशित: १८ श्रावण २०८१ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App