२ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसद्वारा खारकिभमा धमाधम मिसाइल आक्रमण, कम्तीमा सात जनाको मृत्यु

युक्रेनको राजधानी किभपछिको दोस्रो ठुलो सहर खारकिभ र वरपरका क्षेत्रमा रुसले भीषण आक्रमण थालेको छ। रुसको सीमा नजिकै युक्रेनको उत्तरपूर्वी क्षेत्रस्थित सहर खारकिभ कब्जा गर्न रुसले भीषण बमबारी गर्न थालेको हो।

पछिल्ला केही दिनयता रुसी सेना खारकिभ कब्जा गर्न उक्त क्षेत्रतर्फ अग्रसर भइरहेको समाचार बाहिरिएका थिए। यसै क्रममा बिहीबार धमाधम एकपछि अर्को मिसाइल आक्रमण गरिरहेको युक्रेनले जनाएको छ।

युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले खारकिभ र ल्युबोटिन क्षेत्रमा रुसबाट एकैसाथ १५ भन्दा बढी मिसाइल प्रहार भएको बताएका छन्। जसबाट त्यहाँ सर्वसाधारणको हताहतका घटना भएको उनले एक्स (ट्विटर) मार्फत सूचना दिएका छन्।

घटना लगत्तै आपत्कालीन सेवाहरू घटनास्थलमा पुगिसकेको उल्लेख गर्दै राष्ट्रपति जेलेन्स्कीले घाइते भएका सबैलाई आवश्यक सहयोग भइरहेको जनाएका छन्। युक्रेनसँग पर्याप्त हवाई सुरक्षा संसाधन क्षमता नभएको मौकाको फाइदा उठाउँदै सीमा नजिक पुगेर रुसी सेनाले आक्रमण गरिरहेको जेलेन्स्कीले लेखेका छन्। ‘यो कमजोरी हाम्रो होइन, तर विश्वको हो। जसले तीन वर्षसम्म आतंकवादीसँग उसको व्यवहारअनुरूप सामना गर्ने हिम्मत गरेन,’ जेलेन्स्कीले लेखेका छन्।

रुसी मिसाइल आक्रमणबाट खारकिभमा मात्रै कम्तीमा ७ जनाको ज्यान गएको युक्रेनी सेनाले जनाएको छ। युक्रेनी सेनाले जनाएअनुसार रुसले खारकिभको यातायात पूर्वाधार, बहुउपयोगी कम्पनी, छापाखानालक्षित गरेर मिसाइल प्रहार गरेको छ। सार्वजनिक तस्बिरमा देखिएअनुसार उक्त धमाकामा संरचना ध्वस्त भएका देखिन्छन्। 

रुसले खारकिभ कब्जा गर्न खोजेको यो पहिलो प्रयास भने होइन्। यसअघि रुसले कब्जा गरेको डोनबास क्षेत्र नजिकै रहेको खारकिभ सहर रुसले निकै महत्वका रुपमा लिएको छ।

प्रकाशित: १० जेष्ठ २०८१ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App