१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ जनाको मृत्युः प्रतिवेदन

इरानमा सन् २०२२ मा महसा अमिनीको हिरासतमा भएको प्रदर्शनका क्रममा २८१ व्यक्तिको मृत्यु भएको सरकारी प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो आँकडा संयुक्त राष्ट्रसङ्घका तथ्य–अन्वेषकहरूले यस महिनाको सुरूमा दिएको भन्दा निकै कम हो।

इरानी प्रतिवेदनमा अधिकांश सर्वसाधारणको मृत्यु ‘हिंसात्मक प्रदर्शन’ र ‘आतङ्कवादी गतिविधि वा आक्रमणमा’ संलग्न अवस्थामा भएको उल्लेख गरिएको छ।

राष्ट्रपति कार्यालयबाट आइतबार प्रकाशित करिब ३०० पृष्ठ लामो विशेष प्रतिवेदनमा सन् २०२२ को सेप्टेम्बरमा अमिनीको मृत्युपछि भएको अशान्तिका कारण २८१ जनाको मृत्यु भएको अनुमान गरिएको हो।

यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले इरानमाथि मानवताविरुद्धको अपराधको आरोप लगाएको नौ दिनपछि प्रकाशित भएको हो।

इरानको ‘ड्रेस कोड’ उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको तीन दिनपछि मृत्यु भएकी २२ वर्षीया अमिनी इरानी कुर्दिश महिला थिइन्।

राष्ट्रपति इब्राहिम रइसीले अमिनीको मृत्युपछि देशभर भड्किएको हिंसा र अशान्तिको कारणबारे अनुसन्धान गरेको विशेष समितिले अमिनीको ‘सेरेब्रल हाइपोक्सिया’ का कारण मृत्यु भएको बताएको थियो।

सन् २०२२ को अक्टोबरमा अमिनीको परिवारले उनको मृत्यु कुटपिटका कारण नभएको पुष्टि गर्ने उक्त सरकारी मेडिकल रिपोर्ट अस्वीकार गरेको थियो।

सन् २०२२ को नोभेम्बरमा गठन गरिएको संयुक्त राष्ट्रसङ्घको तथ्य खोजी मिसनद्वारा जारी पहिलो प्रतिवेदनमा “मिसनलाई प्रप्ता विश्वसनीय तथ्याङ्कले सुरक्षा बलद्वारा ५५१ जना प्रदर्शनकारी मारिएको देखाएको छ, जसमध्ये कम्तीमा ४९ जना महिला र ६८ जना बालबालिका रहेका छन्।

प्रतिवेदनमा भनिएको छ, ‘अधिकांश मानिसको मृत्यु राइफललगायत हतियारका कारण भएको छ।’

इरानी सरकार निकट विज्ञहरूले आफ्नो प्रतिवेदनमा ‘सुरक्षा सेवा र न्यायपालिकालगायत सरकारी संस्थाहरूले अशान्तिको सामना गर्न जिम्मेवारीपूर्वक काम गरेको’ निष्कर्ष निकालेका छन्।

संयुक्त राष्ट्रसंघीय मिसनले आफ्नो प्रतिवेदनमा प्रदर्शनका क्रममा ‘अनावश्यक र असमान बल प्रयोग, स्वेच्छाचारीता, स्वतन्त्रताबाट बञ्चित, यातना, बलात्कार, बलपूर्वक बेपत्ता पारिएका र लैङ्गिक उत्पीडन’ जस्ता घटना भएको उल्लेख गरेको छ।

मिसनले धेरै उल्लङ्घनहरू ‘मानवता विरुद्धको अपराध’ भएको जनाएको छ। रासस

प्रकाशित: ६ चैत्र २०८० ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App