८ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजराइल र हमासबीच रोकिएको युद्धविराम वार्ता आजबाट पुनः सुरु हुने अपेक्षा

इजराइल र हमासबीच रोकिएको युद्धविराम वार्ता आजबाट पुनः कतारमा सुरु हुने अपेक्षा गरिएको छ।

दुबै पक्षबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आजबाट कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।

मुस्लिम धर्माबलम्बीहरूको पवित्र महिना रमजानको सुरुआतपछि पहिलो पटक इजराइली अधिकारी र हमासका नेताहरू अप्रत्यक्ष रुपमा वार्तामा सहभागी हुनेछन्।

मध्यस्थकर्ताहरूले यसै साताको प्रारम्भमा रमजान सुरु हुनुअघि छ साताको युद्धविराम सुरक्षित गर्ने आशा गरेका थिए। तर, हमासले गाजामा स्थायी युद्धविराम नहुने कुनै पनि सम्झौतालाई अस्वीकार गर्यो भने इजराइलले हमासको उक्त मागलाई खारेज गर्यो।

यद्यपि हालैका दिनहरूमा सम्पूर्णरूपमा नटुटेको वार्तालाई दुवै पक्षले ट्र्याकमा ल्याउने उद्देश्यले कदम चालेका छन्। इजिप्टका दुई अधिकारीका अनुसार हमासले युद्ध समाप्त गर्ने तीन चरणको योजनाको नयाँ प्रस्ताव मध्यस्थकर्ताहरूलाई दिएको छ।

पहिलो चरणमा छ साताको युद्धविराम हुनेछ। यसमा इजराइलले राखेका तीन सय ५० प्यालेस्टिनी कैदीको बदलामा गाजामा हमास लडाकूहरूले बन्धक बनाएका महिला, बिरामी र वृद्धसहित ३५ बन्धकको रिहाइ समावेश हुनेछ।

हमासले ५० कैदीको बदलामा कम्तीमा पाँच महिला सैनिकलाई पनि रिहा गर्नेछ। यिनीहरूमा प्रत्येक सैनिकका लागि आतङ्ककारी आरोपमा लामो सजाय काटिरहेका केही महिला पनि रहेका छन्।

अधिकारीहरूका अनुसार इजराइली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ, विस्थापित प्यालेस्टिनीहरूलाई युद्धले विनाश भएको उत्तरी गाजामा फर्कन अनुमति दिनेछ र यस क्षेत्रमा सहायताको स्वतन्त्र प्रवाहलाई अनुमति दिनेछ।

राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले तहसनहस भएको उत्तरमा दुई वर्षभन्दा पनि कम उमेरका तीन बालकमध्ये एक जना गम्भीर कुपोषणबाट पीडित भएको शुक्रबार बताएको छ।

अधिकारीहरूका अनुसार दोस्रो चरणमा दुवै पक्षले स्थायी युद्धविरामको घोषणा गर्नेछन् र हमासले थप कैदीको बदलामा बन्धक बनाइएका बाँकी इजराइली सैनिकहरूलाई मुक्त गर्नेछ।

तेस्रो चरणमा इजराइलले गाजाको नाकाबन्दी हटाएर पुनर्निर्माण सुरु गर्न अनुमति दिएको बदलामा हमासले आफूसँग रहेका शवहरू हस्तान्तरण गर्नेछ।

इजराइलको आक्रमणले गाजाका २३ लाख मानिसमध्ये अधिकांशलाई उनीहरूको घरबाट विस्थापित गरेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका एक चौथाई जनसङ्ख्या भोकमरीमा परेको छ।

प्रकाशित: ४ चैत्र २०८० ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App