७ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान–पाकिस्तान विवाद साम्य, दुबै देशका राजदूतहरू पुनः काममा फर्किने

इरान र पाकिस्तानबीच बढेको विवाद साम्य बनेको छ। दुबै मुलुकले एक अर्कामाथि आक्रमण गरेपछि तनाव उत्पन्न भएको थियो। तर, बढेको तनावलाई कम गर्न सहमत भएपछि दुवै मुलुकका राजदूतहरू आफ्नो काममा फर्किने भएका छन्।

तेहरान र इस्लामाबादमा विदेश मन्त्रालयहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘दुवै मुलुकका राजदूतहरू जनवरी २६ सम्म आ–आफ्नो पदमा फर्किन सक्ने सहमति भएको छ।’ इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले पनि आफ्ना पाकिस्तानी समकक्षी जलिल अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ।

जिलानी र अमिर–अब्दुल्लाहियानबीच टेलिफोन वार्तापछि निर्णयको घोषणा गरिएको हो। इरानले आफ्नो भूमिमा हमला गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा त्यस्तै प्रकारको ‘आतङ्कवादी लक्ष्यहरू’ मा हवाई हमला गरेको थियो।

तेहरानले हालैका महिनामा इरानमा धेरै घातक हमला गर्ने जिहादी समूह जैश अल–अदललाई लक्षित गरी पाकिस्तामा हमला गरेको बताएको छ। सन् २०१२ मा स्थापना भएको उक्त समूहलाई इरानले ‘आतङ्कवादी’ सङ्गठनका रूपमा कालो सूचीमा राखेको छ।

कम्तीमा दुई बालबालिकाको मृत्यु हुने गरी भएको इरानी हमलालाई लिएर पाकिस्तानले कडा आलोचना गरेको थियो र उसले तेहरानबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो भने इरानका राजदूतलाई इस्लामाबाद आउन रोक लगाएको थियो। तेहरानले बिहीवार पाकिस्तानी हमलामा कम्तीमा नौ जनाको ज्यान गएपछि इस्लामाबादका चार्ज डि अफेयरलाई बोलाएको थियो।

शुक्रवार जिलानी र अमिर–अब्दुल्लाहियानले फोनमा कुराकानी गर्दै दुवै मुलुकबिच ‘स्थितिलाई कम गर्न’ सहमति व्यक्त गरेका थिए। गत साता दुवै मुलुकबिच विभाजित बलुचिस्तानको सीमावर्ती इलाकामा दुर्लभ सैन्य कारवाहीहरूले इजराइल–हमास युद्धबाट यसअघि नै भड्किएको क्षेत्रीय तनावलाई बढाएको थियो।  

प्रकाशित: ९ माघ २०८० ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App