३२ असार २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी आक्रमणबाट युक्रेनमा १४ जनाको मृत्यु

रुसले बुधवार राति युक्रेनका विभिन्न सहरहरूलाई मिसाइल र ड्रोन आक्रमण गरेको छ। उक्त आक्रमणमा परी कम्तीमा १४ जना युक्रेनी नागरिकको मृत्यु भएको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्। आक्रमणबाट विशेष गरी ओडेसा, सुमी, र जापोरिझिया लगायतका क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ। 

ब्ल्याक सी स्थित रणनीतिक रूपमा महत्त्वपूर्ण ओडेसा बन्दरगाह क्षेत्रमा भएको ठूलो ड्रोन तथा मिसाइल आक्रमणमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय प्रमुख ओलेह किपरका अनुसार रुसले ओडेसा क्षेत्रलाई निशाना बनाएको यो लगातार पाँचौं दिन हो। रुसी क्षेप्यास्त्र एउटा बहुमञ्जिला आवासीय भवनमा खस्दा सर्वसाधारणको ज्यान गएको र कैयौँ घाइते भएका छन्। आक्रमणबाट एउटा गैरआवासीय भवन र ग्यास पाइपलाइनमा समेत गम्भीर क्षति पुगेको छ।  

रुसी रक्षा मन्त्रालयले ओडेसा आक्रमणको पुष्टि गर्दै पेट्रोलियम, तेल तथा लुब्रिकेन्ट अनलोड गर्न प्रयोग गरिने बन्दरगाहका पूर्वाधारहरूलाई लक्षित गरिएको दाबी गरेको छ। यद्यपि, युक्रेनी अधिकारीहरूले भने रुसले जानाजानी नागरिक बस्ती र गैरसैनिक संरचनालाई निशाना बनाएको आरोप लगाएका छन्।  

युक्रेनले पनि रातिको समयमा कालो सागर क्षेत्रमा प्रत्युत्तर दिएको दाबी गरेको छ। युक्रेनी ड्रोनहरूले १७ वटा तेल ट्याङ्करसहित २० वटा रुसी जहाजमा आक्रमण गरेको बताइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी आक्रमणपछि विश्वकै प्रमुख अन्न निर्यातकर्ता रुस अजोभ सागरमा आफ्ना जहाज सञ्चालनमा प्रतिबन्ध लगाउन बाध्य भएको छ। उक्त समुद्री मार्गबाट रुसको करिब एक चौथाइ अन्न निर्यात हुने गर्दछ। 

संयुक्त राष्ट्रसंघीय मानव अधिकार अनुगमन मिसनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनामा मात्रै युक्रेनमा कम्तीमा २९३ नागरिक मारिएका र १ हजार ९९० जना घाइते भएका छन्।  

प्रकाशित: ३२ असार २०८३ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App