१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाका एक करोडभन्दा बढी नागरिक इन्टरनेट र फोन सेवाबाट बञ्चित

अस्ट्रेलियाको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी नागरिक इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका छन्।  

उक्त गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भए भने मुलुकको सबैभन्दा ठूलो सहर मेलबर्नमा भीडभाड हुने रेलहरू केही समयका लागि रोकियो।  

सिङ्गापुरको दूरसञ्चार कम्पनी सिङ्गटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो ‘केही’ सेवाहरू पुनःस्थापित गरिएको बताएको छ। यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन। 'हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, हामीसँग धेरै परिकल्पना थिए र अहिलेसम्म हामीले जति परीक्षण गर्यौँ र नयाँ कार्य गर्यौँ तिनीहरूले मूल समस्याको समधान गर्न सकेका छैनन्', कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले राष्ट्रिय प्रसारक एबिसीलाई भने, 'मूल समस्या र पुनःस्थापनाको समय थाहा भएपछि हामी चाँडोभन्दा चाँडो सबैलाई अपडेट गराउने छौँ।'

उनले ह्याकिङका कारण सेवा अवरुद्ध भएको कुनै सङ्केत दिएनन्। ठिक एक वर्ष पहिला साइबर आक्रमणमा ९० लाखभन्दा ग्राहकको व्यक्तिगत डाटा चोरी भएको थियो। छुट्टै विज्ञप्तिमा कम्पनीले सबै सेवाहरू पुनः सञ्चालन गर्न केही घन्टा लाग्न सक्ने बताएको छ। अस्ट्रेलियाली सरकारले मोबाइल फोन, ल्यान्डलाइन र ब्रोडब्यान्ड इन्टरनेट प्रभावित भएको बताएको छ।  

एक करोडभन्दा बढी ग्राहक भएको अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी अप्टसले स्थानीय समयानुसार बिहान करिब ४ः०५ बजे सेवा अवरुद्ध भएको थाहा पाएको बताएको छ । इन्जिनियरहरूले समस्या समाधान गर्न प्रयास जारी राख्दा नौ घन्टासम्म व्यापक समस्याहरूले अप्टस नेटवर्कलाई दुःख दियो। रासस 

प्रकाशित: २२ कार्तिक २०८० ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App