१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यस्तो पनि ! कथा–पात्र पर्यटन

तपाईंले नेपालको ‘गुरिल्ला ट्रेक’ बारे सुन्नु भएको छ? नेपालमा माओवादी द्वन्द्वका बेला उनीहरूले प्रयोग गरेका बाटाघाटालाई गुरिल्ला ट्रेक भनिन्छ। पछिल्लो समय त्यो चर्चित ट्रेकलाई केही व्यवसायीहरूले उपयोग गर्न थालेका छन्। यो त भयो, वास्तविक ट्रेक तर फिक्सनल ट्रेकको अचेल निकै चर्चा छ।

नेटफ्लिक्समा लोकप्रिय ‘एमिली इन् पेरिस’लाई भजाउन स्वयं नेटफ्लिक्स लागिपरेको छ। ‘एमिली प्याकेज’ नाममा सुरु भएको यो टूरमा ८ देखि १६ जनाको समूहलाई पेरिस घुमाइन्छ। सहभागीहरूले एमिलीले पेरिसमा जे जे गर्छे, त्यही त्यही सिकाइन्छ वा देखाइन्छ। पर्दामा नदेखिएका कयौं राम्रा पक्ष पनि यो टूरमा देखाइन्छ।  

टेलिफिल्मका अनुसार अमेरिकाबाट फ्रान्सको राजधानी पेरिसको विज्ञापन एजेन्सीमा काम गर्न आइपुगेकी एमिलीले अमेरिका र फ्रान्समा के के कुराको फरक अनुभूति गर्छे भन्ने कुरा निकै रमाइलो पारामा देखाइएको छ।  

टूरकी डिजाइनर कराफ एल मन्सुरी भन्छिन्, ‘कुनै ठाउँको यात्रामा जानु, घुम्नु रमाइलो होला तर भोग्नु अत्यन्त रोचक पक्ष हो। हामी टेलिफिल्मका पात्रले जे जस्ता चिज भोग्दै अघि बढ्छन्, हामी पनि सोही स्तरमा पेरिसको रमाइलो गराउँछौं।’

केहीले भने वास्तविक पेरिस घुमाउनुको साटो पैसामा हुरुक्क हुनेहरूले नक्कली पात्रको पेरिस घुमाउनु हद दर्जाको नक्कल हो भनिरहेका छन्। जवाफमा कराफ भन्छिन्, ‘विभिन्न ठाउँमा गएर सेल्फी लिनुभन्दा नक्कली नै सही ती पात्रले जस्तै आफूले पनि केही भोग्दै, घुम्दै शहरबारे जानकारी बटुल्नु त अझ राम्रो कुरा हो।’

एउटा ट्राभल सर्भेअनुसार, ४० प्रतिशत सर्वसाधारणले टेलिभिजनमा देखेका ठाउँहरू नै घुम्न इच्छा लाग्ने बताएका थिए। यो यात्रा तिनै ४० प्रतिशतलाई लक्षित गरी बनाइएको हो।

नेटफ्लिक्सले नै सिफारिस गरेको यो सोकी प्रशंसक तथा यात्राकी पथ प्रदर्शक इनेस ताजी भन्छिन्, ‘मलाई आख्यान र वास्तविकताबीच पुलको काम गर्न असाध्य मन पर्छ। यो अरूले आलोचना गरेजस्तो आख्यानलाई गौरवीकृत गर्नु नभई फ्रान्सेली राजधानीप्रति सम्मान व्यक्त गर्नु हो।’

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ४ आश्विन २०८० ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App