१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकालार्इ प्योङयाङको चेतावनी

लन्डन – युरोपका लागि उत्तर कोरियाको साँस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ तयार भन्दै चेतावनी दिएका छन्।

उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनमै काओ डी बेनोको यस्तो भनाई आएको हो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङको नजिकको सम्बन्ध रहेका मध्येका एक एलेखेन्द्रोले वर्तमान अवस्थामा अमेरिकाको लगभग जुनसुकै सहरलाई निशाना बनाउन उत्तर कोरिया सक्षम रहेको बिबिसी रेडियो फाइबसँगको कुराकानीका क्रममा दावी गरेका छन्।   

पारमाणविक परीक्षण गरेको दुई साता पनि नबित्दै उत्तर कोरियाले शुक्रबार जापानको हकाइदो टापुमाथिको आकाश प्रयोग गर्दै दोस्रो क्षेप्यास्त्र प्रहार गरेको थियो।

प्योङयाङको पछिल्लो कदमसँगै कोरियाली प्रायद्विपमा जारी तनावमा थप वृद्धि भएको छ। ‘सबै अमेरिकी वैज्ञानिकहरुलाई यो कुरा थाहा भइसकेको छ कि हामीले परीक्षण गरेको क्षेप्यास्त्रले लामो दूरीसम्म मार हान्न सक्छ । हामी त्यसलाई चार हजार किलोमिटरसम्म पठाउन सक्छौं अर्थात् अब हामी अमेरिकाको लगभग जुनसुकै सहरलाई निशाना बनाउन सक्छौं,’ काओ डी बेनोले रेडियो कार्यक्रममा बताए । 

उनले गत साता गरेको परीक्षणबाहेक पनि प्योङयाङले थुप्रै पारमाणविक परीक्षण गरेको बताउँदै त्यसले उत्तर कोरियाको परमाणु क्षमतालाई विश्वभर देखाएको दावी गरे। 
‘संसारलाई अहिले हाम्रो प्राविधिक र वैज्ञानिक क्षमताबारे थाहा भइसकेको छ,’ काओ डी बेनोले भने । 

उत्तर कोरियाली सेनाका अनुसार शुक्रबार प्रहार गरिएको क्षेप्यास्त्रले प्यासिफिक समुद्रमा खस्नु अघि सात सय ७० किलोमिटरको उचाईबाट तीन हजार सात सय किलोमिटरको दूरी तय गरेको थियो।

काओ डी बेनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकालाई फेरि महान बनाउन लागेको भन्दै विश्वसामु प्रस्तुत हुने गरेपनि कोरियाली प्रायद्विपमा गम्भीर अवस्था आउन नदिनका लागि अमेरिका र उत्तर कोरियाबीच पहिले देखि नै कुराकानी हुँदै आएको पनि दावी गरेका छन्। 

उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर अमेरिकाले निरन्तर दबाब दिँदै आएपनि प्योङयाङमाथि त्यसको खासै असर परेको देखिएको छैन । अघिल्लो साता पनि उत्तर कोरियाले जापानी आकाश हुँदै क्षेप्यास्त्र प्रहार गरेपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सर्वसम्मत रुपमा गत साता मात्रै पनि उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाएको थियो । थप प्रतिबन्धको घोषणा लगत्तै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हालेले उत्तर कोरियाविरुद्धको प्रतिबन्धले काम नगरे सैन्य कारबाहीको विकल्प पनि रहेको बताएकी थिइन् । पछिल्लो समय उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रसंघको सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाई तत्काल त्यस्ता गतिविधि रोक्न प्योङयाङलाई आह्वान गरेको छ। 

सुरक्षा परिषद्को बैठकअघि अमेरिका, चीन र रुसबीच उक्त विषयमा विवाद उत्पन्न भएको थियो।

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूतले उत्तर कोरियाली संकटको कूटनीतिक तवरले मात्रै समाधान गर्न सकिने बताएका थिए । पछिल्लो परीक्षणलाई लिएर उत्तर कोरियाविरुद्ध थप सशक्त प्रतिबन्ध लगाउने चर्चा चले पनि सुरक्षा परिषद्को बैठकमा भने त्यसबारे छलफल नभएको बताइएको छ। 

प्रकाशित: २ आश्विन २०७४ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App