३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीद्वारा पत्रकारको सामना

अमेरिका भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पत्रकारहरूका प्रश्नको सामना गरेका छन्। अलिखित क्षणलाई यसअघि सधैं टाल्दै आएका मोदीले यसपटक पत्रकारका प्रश्नको सिधा सामना गरेको विषयलाई दुर्लभ मानिएको छ। पछिल्ला वर्षहरूमा भारतमा प्रेस स्वतन्त्रताको अवस्था लगातार गिर्दाे रहेको आरोप छ।  

अमेरिका भ्रमणमा आउने विदेशी नेतासँग राष्ट्रपतिले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने प्रचलन भए पनि मोदीसँग यस्तो कार्यक्रम गर्न त्यति सजिलो नहुने ठानिएको थियो। पत्रकार सम्मेलनका लागि एक दिनअघिमात्रै भारतीय अधिकारीहरू तयार भएको एक अधिकारीले बताएका छन्। संयुक्त पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिनु ह्वाइट हाउसको सामान्य प्रचलन रहेको अमेरिकी अधिकारीले मोदीका सल्लाहकारलाई बताएका थिए।  

पत्रकार सम्मेलनमा एक भारतीय पत्रकारले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने विषय र अर्का अमेरिकी पत्रकारले मानव अधिकारको विषयमा मोदीसँग जिज्ञासा राखेका थिए। एसिया प्रशान्त क्षेत्रमा भारतसँग सहकार्य गर्न अमेरिका इच्छुक रहेका बेला भारतमा मानव अधिकारको अवस्था संवेदनशील रहेको बताइन्छ। प्रश्नको जवाफमा मोदीले भारतमा ‘नसानसामा प्रजातन्त्र प्रवाहित हुने’ र कसैप्रति भेदभाव नगरिएको दाबी गरेका थिए।

नौ वर्षअघिदेखि निरन्तर प्रधानमन्त्री रहेका मोदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिए पनि कहिल्यै एकल पत्रकार सम्मेलन गरेका छैनन्। कुनैबेला कसैले प्रश्न सोधेमा उनले मञ्चमा रहेका अन्य कसैलाई उत्तर दिन लगाउँदै आएका छन्। विदेश भ्रमणका बेला पनि मोदी पत्रकारसँग टाढा रहन चाहन्छन्। उदाहरणका लागि गत वर्ष स्वच्छ ऊर्जासम्बन्धी सहमति गर्न जर्मनी पुगेका मोदीले पत्रकार सम्मेलनमा बस्न इन्कार गरेका थिए। तर तिनै मोदीले अहिले अमेरिका भ्रमणका बेला फरक व्यवहार देखाएका छन्। आठ वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारत भ्रमण गरेका बेला मोदीले दुई पत्रकारले गरेका प्रश्नको सम्बोधन गरेका थिए। सामाजिक सञ्जालमा सक्रिय मोदीले हरेक महिना रेडियोमार्फत आफ्ना कुरा जनतासमक्ष राख्ने र समयसमय लामो भाषण गर्दै आएका छन्।

अलिखित क्षणलाई यसअघि सधैं टाल्दै आएका मोदीले यसपटक पत्रकारका प्रश्नको सिधा सामना गरेको विषयलाई दुर्लभ मानिएको छ। 

यी प्लेटफर्ममार्फत उनले सरकारी कार्यक्रम, भौतिक पूर्वाधार उद्घाटन तथा कुनै विपद्मा समवेदना व्यक्त गर्छन्। धार्मिक अल्पसंख्यकमाथि हिंसाजस्ता समाजलाई ध्रुवीकृत गर्ने घटनामा उनी मौन रहन्छन्। झन्डै एक सयजनाको ज्यान गएको तथा भारतको उत्तरपूर्वी राज्यमा भएको जातीय हिंसाबारे उनले कुनै प्रतिक्रिया दिएका छैनन्। ‘उनको मौनता प्रसिद्ध छ। साम्प्रदायिक हिंसाबाट टाढा रहन सर्वसाधारणलाई उनले कहिल्यै भनेका छैनन्’, मोदीको जीवनी लेखकसमेत रहेका निलञ्जन मुखोपाध्याय भन्छन्। वाशिङ्टनको पत्रकार सम्मेलनमा एकाध प्रश्नलाई मोदीले सम्बोधन गरेका छन्।  

मोदीले सत्ता सम्हालेयता भारतमा प्रेस स्वतन्त्रता हननका घटना बढेका छन्। रिपोर्टर्स विदाउट बोर्डसका अनुसार प्रेस स्वतन्त्रताका हिसाबले विश्वका १८० देशमा भारत १६०आंै स्थानमा पर्दछ। ‘पत्रकारिता पेसामा संलग्न भएकै कारण भारतमा हरेक वर्ष तीनदेखि चार पत्रकारको हत्या हुने गरेको छ। पत्रकारिताका लागि विश्वकै सबैभन्दा खतरनाक देशमध्ये एक भारत पर्छ,’ रिपोर्टर्स विदाउट बोर्डसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।  

भारतमा मोदीको आलोचना गर्ने कतिपय सञ्चारमाध्यमलाई करछलीसम्बन्धी अभियोग लगाउने गरिएको छ। हालै बिबिसीको एक डकुमेन्ट्रीमा सन् २००२ को गुजरात हिंसामा मोदीको भूमिकामाथि प्रश्न गर्दा उक्त डकुमेन्ट्री प्रसारणमा बन्देज लगाइएको थियो।

मोदीको अमेरिका भ्रमण उपलब्धि

मोदीको अमेरिका भ्रमणका अवसरमा दुई देशबीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तारमा सहमति भएको छ। अमेरिकाको जनरल इलेक्ट्रिक कम्पनी र भारतको हिन्दुस्तान एरोनटिक्सबीच भारतमा जेट इन्जिन उत्पादन गर्ने सहमति भएको छ। यसैगरी भारतले अत्याधुनिक एमक्यु–९ बी ड्रोन अमेरिकासँग खरिद गर्ने भएको छ। अमेरिकी कम्पनी माइक्रोन टेक्नोलजीले भारतमा ८० करोड अमेरिकी डलर लगानी गर्ने अर्काे सहमति भएकोछ। अन्तरिक्षका विषयमा पनि पनि सहकार्य गर्ने सहमति भएको छ।  

भ्रमणका क्रममा मोदीले अमेरिकी कंग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्दै भारत विभिन्न धर्म र सम्प्रदायका मानिसको बसोबास भएको देश रहेको र यो विविधतालाई सम्मान गरिएको बताएका थिए। ‘यी दुई ठूला प्रजातान्त्रिक देशलाई विश्वले नियालिरहेको छ। दुई देशबीचको रणनीतिक साझेदारी अत्यन्त महŒवपूर्ण छ,’ उनले सम्बोधनका क्रममा भनेका थिए।  

प्रकाशित: ९ असार २०८० ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App