अबदेखि घरमै बसेर अस्पतालको बेड खाली भएनभएको हेर्न सकिने भएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती डिजिटल हेल्थ शुभारम्भ गरेसँगै यो सुविधा सर्वसाधारणले पाउने भएका हुन्। मन्त्रालयले शुक्रबार बागमती प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ एक कायक्रमबिच गरेको हो।
यो सुविधाअनुसार अब सर्वसाधारणले अस्पतालमा भर्ना हुनु परेमा बेड खाली छ, छैन भनेर घरबाटै मोबाइलमा हेन सक्ने छन्। यति मात्रै नभई, कुन अस्पतालमा कतिजना बिरामी पुगेका छन्? कतिजनाले स्वास्थ्य बिमाबाट टिकट काटेका छन्? कतिजनाले पैसा तिरेर टिकट काटेका छन्? कुन समयसम्म कति जनाले सेवा लिएलगायतका सूचना पनि मोबाइलबाटै जानकारी लिन सकिनेछ।
स्वास्थ्य जाँचको रिपोर्ट पनि स्क्यान गरेर मोबाइलमै हेर्न सकिनेछ। ‘स्वास्थ्य जाँचका लागि टिकट काट्दा त्यहाँ क्युआर पनि हुनेछ,’ बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भने, ‘त्यही क्युआरबाट आफ्नो स्वास्थ्य जाँचको रिपोर्ट पनि हेर्न सकिनेछ।’ यसका लागि एउटा एप्स विकास गरिएको छ। हाललाई बागमती प्रदेशका १३ वटा अस्पतालबाट यो सुविधा पाइने भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल बनाउनतिर लाग्न सबैसँग आग्रह गरे। ओलीले यसका लागि सबैजना लाग्न अनुरोध गरे। रोग लागेपछि उपचार गनुभन्दा रोग लाग्नै नदिने प्रयास गरिनु महत्त्वपूणै भएको उनले बताए। तथापि रोग लागिसकेपछि उपचारका लागि अस्पतालको पनि बन्दोबस्त गरेको उनको भनाइ थियो।
नेपालको हावापानी शुद्ध रहेकाले हामीले यसको फाइदा उठाउनुपर्ने उनको भनाइ थियो। त्यस अवसरमा उनले स्वयंसेवीको पनि प्रशंशा गरे।
उनले भने, ‘अहिले यो कार्यक्रममै पनि स्यालरी खाने कर्मचारी अगाडि छन्, स्वयंसेवकहरू पछाडि हुनुहुन्छ। यदि यहाँ सेवा चाहिएको भए पछाडि बसेका स्वयंसेवकहरू अघि हुन्थे, स्यालरी खाने कमचारीहरू पछाडि हुन्थे।’
देशका सात वटा प्रदेशमध्ये पहिलो पटक बागमती पूर्ण खोप सुनिश्चित प्रदेश भएकोमा उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, मन्त्री लगायतको समूहलाई बधाईसमेत दिए।
कार्यक्रम बाममती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको थियो। कार्यक्रममा बागमती प्रदेशकै स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरू सहभागी थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले १३ जना स्वास्थ्य क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरूलाइ सम्मान गरेका थिए।
प्रकाशित: १७ श्रावण २०८२ ११:०२ शनिबार





