१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

अल्जाइमर्स कस्तो रोग हो ? लक्षण र बिरामीको हेरचाह विधि थाहा पाउनुहोस्

अल्जाइमर्स रोग विस्मृति अर्थात् बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो । अल्जाइमर्स यस्तो रोग हो, जसलाई रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रूपमा निको पार्न पनि सकिँदैन ।  

हरेक तीनजना स्मरण शक्तिसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको पाइन्छ ।

स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमा आएर जचाएकाहरूमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ ।  

नेपालमा भने अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक नभए पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यस रोगका बिरामी पनि देखा पर्ने क्रम बढ्दो छ ।

अन्तर्राष्ट्रिय रूपमा विशेषगरी अमेरिकी तथ्यांकअनुसार मानिसहरूको मृत्युको कारकका रूपमा रहेका प्रमुख १० रोगमध्ये अल्जाइमर्स छैटौं स्थानमा पर्छ ।

अल्जाइमर्सका ७ लक्षण

अल्जाइमर्स रोग विस्मृति अर्थात् बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो ।

यो रोग लागेका व्यक्तिमा सुरुवातमा स्मरणशक्ति ह्रास हुने र समयसँगै रोग बढ्दै जाँदा पछि कुराकानी गर्न र प्रतिक्रिया दिन असक्षम हुने हुन्छ ।

अल्जाइमर्स रोगले सोचाई, स्मरण शक्ति र भाषा नियन्त्रण गर्ने मतिष्कका भागमा असर पुर्याउँछ र व्यक्तिलाई दैनिक गतिविधिहरू गर्न असक्षम बनाउँछ ।

१) स्मरणशक्ति गुम्नु

यो अल्जाइमर्स भएका व्यक्तिमा देखिने मुख्य लक्षण हो । बिर्सनु आफैँमा रोग होइन । तर, अल्जाइमर्सका बिरामीले बारम्बार अर्थात भर्खर भनेका कुरा पनि बिर्सन्छन् । बिरामीले आफ्नै घरको बाथरुमदेखि भर्खरै बोलेको मानिस चिन्दैनन् ।

२) मुल्यांकनमा कठिनाई

सामान्य अन्दाज गर्न समेत नसक्नु अल्जाइमर्स रोगको अर्को लक्षण हो ।  

३) डिप्रेस र मन परिवर्तन

कुनै व्यक्तिको मुड परिवर्तन भइरहन्छ र प्रायः निराश देखिन्छ भने उसलाई भित्रभित्रै अल्जाइमर्सले गाँजेको हुनुपर्छ । डिप्रेसन अल्जाइमर्स रोगको पूर्व लक्षण हो ।  

४) निर्णय क्षमतामा ह्रास

कसैले निर्णय गर्न सक्दैन वा मनमा दुविधा मात्र राख्छ भने पनि अल्जाइमर्सको लक्षण हो ।  

५) ध्यान नहुनु  

अल्जाइमर्सका बिरामीमा नियमित काममा कत्ति पनि ध्यान हुँदैन । उसले यसअघि गरेका काम सबै बिर्सन्छ । उसको सबै दिनचर्या नै खलबलिन्छ ।  

६) बोल्न कठिनाई  

अल्जाइमर्सका बिरामीले राम्रोसँग बोल्नै सक्दैनन् । तसर्थ, कसैसँग बोल्दा राम्रोसँग बाक्य बनाउन सकिँदैन वा बोल्दा धक लाग्छ भने त्यो पनि अल्जाइमरको अर्को लक्षण हो ।  

७) मनमा छटपटी

मन स्थिर नहुनु, छटपटी बढ्नु, एउटै स्थानमा केहीबेर पनि बस्नु नसक्नु अल्जाइमर्सका लक्षण हुन् ।  

यसरी गर्न सकिन्छ अल्जाइमर्स भएका व्यक्तिको हेरचाह

- अल्जाइमर्स भएका व्यक्तिहरूको कुरालाई धैर्य पूर्वक सुन्ने, दैनिक गरिने कामकाजमा सहयोग पुर्याउने ।

- आत्मनिर्भरता बढाउन आवश्यक सीपहरु सिकाउने, लड्ने तथा चोटपटक लाग्ने जोखिम न्यूनीकरण गर्न घरको वातावरण सुरक्षित बनाउने ।

- स्मरण शक्ति बढाउने खालका अभ्यासहरू गराउने ।

- बिरामीको हेरचाहमा सबैले सहयोग गर्ने ।

- बिर्सिने रोग भएको बिरामी एक्लै घर बाहिर जाँदा हराउने, दुर्घटना वा हिंसामा पर्ने जोखिम हुने भएकोले फोन नम्बर सहित परिचय खुल्ने कागजात वा धातुको चुरा लगाइदिने ।

नेपाल सरकारले पनि अल्जाइमर्स रोग न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै भनेको छ, ‘अल्जाइमर्स रोगको जोखिम कम गर्न आजैदेखि पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले उपचार गर्न ढिलो नगरौँ ।’

सामान्यतया ६० वर्ष पछिको उमेरमा अल्जाइमर्स रोगका लक्षण देखिने हुनाले आफ्नो परिवारका ज्येष्ठ सदस्यहरुमा यो रोगका लक्षणहरु चिनेर जटिलता हुनबाट जोगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।  

अल्जाइमर्स रोग लागेका नागरिकको उपचारका लागि नेपाल सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रममा सूचीकृत अस्पतालमार्फत एक लाख रुपैयाँ बराबरको सेवा निःशुल्क लिन सकिने व्यवस्था मिलाएको जनाएको छ । 

प्रकाशित: २० भाद्र २०८२ १९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App