२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

डब्लुजीएचको नेपाल च्याप्टर गठन, अध्यक्षमा प्रा.डा.दिव्या सिंह शाह

विश्वव्यापी स्वास्थ्यमा महिला (डब्लुजीएच) को नेपाल च्याप्टर स्थापना भएको छ। डब्लुजीएचले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता र महिलाको नेतृत्व प्रवर्द्धनको क्षेत्रमा महत्वपूर्ण काम गर्नेछ। हाल यस नेटवर्कका ६५ देशका ६० च्याप्टरमार्फत ६ हजार ५ सयभन्दा बढी सदस्य र १ लाखभन्दा बढी समर्थक छन्। 

सन् २०१५ मा स्थापन भएको डब्लुजीएचको उद्देश्य विश्वव्यापी स्वास्थ्य नेतृत्वमा महिलाको समान सहभागिता सुनिश्चित गर्नु, महिला स्वास्थ्यकर्मीहरूका आवाजलाई सशक्त बनाउनु र विश्वभरका महिलालाई जोडेर स्वास्थ्य सेवा परिणाम सुधार गर्नु हो।  

नेपाल च्याप्टरको नेतृत्व प्राध्यापक डा.दिव्या सिंह शाहले गरेकी छन्। उनले महिलाको नेतृत्व, नीति निर्माणमा लैङ्गिक समावेशिता र स्वास्थ्य क्षेत्रमा समान अवसरको पक्षमा वकालत गर्न यो अध्याय स्थापना गरिएको दाबी गरिन्। डा. शाहले महिलाको भूमिका सुदृढ पार्न यो एउटा अवसर भए पनि नीतिगत समावेशिता र क्षमतावृद्धि सुनिश्चित गर्न चुनौती पनि रहेको उल्लेख गरिन्।  

च्याप्टरको अध्यक्षमा प्रा.डा.दिव्या सिंह शाह, (सचिव) तथा डा. लोनिम दिक्षित, प्रा.डा.सुदा बस्नेत (कोषाध्यक्ष) तथा प्रा.डा.पविना रायमाझी, डा.संगिता मिश्र, प्रा.डा.पलश्वर जोशी लख्ये, सह–प्रा.डा.निभा ओझा, सुश्री संगिता सेढाई, सुश्री इभन मल्ला र सुश्री सबिता घिमिरे सदस्य रहेका छन्।

सल्लाहकार समितिमा नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, प्रा.डा.रिता थापा, प्रा.अर्चना अमात्य, श्रीमती ज्योत्सना श्रेष्ठ सुब्बा र श्रीमती सिर्जना राणा छन्। सल्लाहकार कमिटीले सार्वजनिक स्वास्थ्य, महिला उद्यमशीलता र स्वास्थ्य वकालत क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।  

आगामी दिनमा डब्लुजीएचले नेपालले सदस्यता विस्तार, नेतृत्व र क्षमतावृद्धि कार्यक्रम सञ्चालन, र लैङ्गिक उत्तरदायी स्वास्थ्य नीतिको पक्षमा वकालत सुदृढ गर्ने योजना बनाएको छ। नेपाल च्याप्टरले साझेदारी निर्माण, अनुसन्धान प्रवर्द्धन र महिला स्वास्थ्यकर्मीहरूलाई सशक्त बनाउँदै नेपालको स्वास्थ्य क्षेत्रको भविष्य निर्माणमा उनीहरूको भूमिका सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: २६ आश्विन २०८२ १७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App