आज विश्व मुटु दिवस। ‘कुनै पनि पल नछुटाउनुहोस्’ भन्ने नाराका साथ आज संसारभर विश्व मुटु दिवस मनाइँदैछ।
विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि मुटु दिवस मनाउन थालिएको हो। सहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ। विश्व मुटु महासङ्घका अनुसार मुटुको रोगबाट विश्वभर एक करोड ७५ लाखको ज्यान जाने गरेको छ।
नेपाललगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान छ। नेपालमा अहिले २५ प्रतिशत अर्थात् झन्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन्।
मुटुरोगीको सङ्ख्या नेपालमा १० वर्षयता पाँच गुणाले बढेको छ। दश वर्षअघिसम्म ५० वर्ष नाघेपछि मुटुसम्बन्धी समस्या देखिने गरेकामा अहिले युवाअवस्थामै मुटुसम्बन्धी समस्या देखिन थालेको विभिन्न तथ्याङ्कमा उल्लेख छ।
वरिष्ठ कार्डियोथोरासिक (मुटु) सर्जन, प्राध्यापक डाक्टर भगवान् कोइरालाका अनुसार मुटुरोग तथा अन्य नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि जनचेतना, नियमित स्वास्थ्य परीक्षण, धुमपान तथा मदिरापान नियन्त्रण र दैनिक व्यायमलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्ने आवश्यकता रहेको बताए।
नेपालमा मुटुरोगको उपचार सेवा विस्तार भए पनि रोगको जोखिम बढिरहेकाले उपचारसँगै रोकथाममा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले जनचेतनामूलक अभियान र स्वास्थ्यसम्बन्धी हस्तक्षेपले धेरै मानिसलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने धारणा राखे।
धुमपानले शरीरका विभिन्न अङ्गमा गम्भीर असर गर्ने उल्लेख गर्दै धुमपान त्याग्नु, खानपानमा सचेत हुनु र नियमित व्यायाम गर्नु स्वस्थ तथा दीर्घजीवनका लागि आवश्यक रहेको छ। नियमित व्यायामले तौल, रक्तचाप र मधुमेह नियन्त्रणमा सहयोग पुग्नका साथै तनाव तथा मानसिक स्वास्थ्य व्यवस्थापन, स्मरणशक्ति र शारीरिक सक्रियता सुधार गर्नसमेत योगदान पुर्याउने उनको भनाइ थियो।
छातीको बीच भागमा गह्रौँ वस्तुले थिचेजस्तो दुखाइ हुनु, दुखाइ बायाँ हाततर्फ सर्नु, चिटचिट पसिना आउनु तथा वाकवाकी र बान्ता हुनु हृदयाघातका प्रमुख सङ्केत हुनसक्ने डाक्टरहरुको भनाइ छ।
हृदयघात हुँदा पेटको बीच भागमा अत्यधिक दुखाइ, डर लाग्ने, मुटुको धड्कन बढेको महसुस हुने तथा अचानक असहजता देखिन सक्ने बताइएको छ।
हृदयघातको जोखिम घटाउन धुम्रपान नगर्ने, मदिरा सेवनबाट बच्ने, कोलेस्ट्रोल, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने तथा शरीरको तौल सन्तुलित राख्नुपर्ने सुझाव चिकित्सकहरूले दिएका छन्।
त्यस्तै फलफूल र सागसब्जी समावेश भएको खानेकुरा खाने, मानसिक तनाव र रिस व्यवस्थापन गर्ने, वायु प्रदूषणको सम्पर्क सकेसम्म कम गर्ने र नियमित शारीरिक गतिविधि गर्ने बानीले मुटु स्वस्थ राख्न सहयोग पुग्ने बताइएको छ।
प्रकाशित: १३ आश्विन २०८३ १२:२१ मंगलबार



-600x400.jpg)

