नेपालमा यो वर्ष जापानिज इन्सेफलाइटिसको संक्रमणले भयावह रूप लिँदै गएको छ।
गत शुक्रबारसम्म थप तीन जनाको मृत्यु भएसँगै यस रोगबाट ज्यान गुमाउनेको कुल संख्या २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो तीन महिनामा मात्रै देशभर ११३ जनामा संक्रमण पुष्टि भएको छ।
परिवार कल्याण महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा स्याङ्जाकी एक ७२ वर्षीया महिला, बाँकेका एक र बर्दियाका एक जना रहेका छन्।
गत सातासम्म २० रहेको मृतक संख्या एक सातामै २३ पुग्नुले संक्रमणको तीव्र फैलावट र गम्भीरतालाई पुष्टि गर्दछ। यस अवधिमा थप १० जना नयाँ संक्रमित फेला परेका छन्, जससँगै कुल संक्रमितको संख्या ११३ पुगेको हो।
महाशाखाको तथ्याङ्कले लुम्बिनी प्रदेशलाई जापानिज इन्सेफलाइटिसको ‘हटस्पट’ को रूपमा देखाएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी ८ जनाको मृत्यु लुम्बिनी प्रदेशमा भएको छ।
त्यसैगरी, बागमती र गण्डकी प्रदेशमा ४-४ जना, कोशी र मधेश प्रदेशमा ३-३ जना तथा सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको छ।
पछिल्लो समय काभ्रे र स्याङ्जा जिल्लामा समेत नयाँ संक्रमितहरू फेला पर्नुले संक्रमणको भौगोलिक दायरा विस्तार भइरहेको देखाउँछ। हालसम्म झापा, मोरङ, चितवन, कपिलवस्तु, प्यूठान लगायत १६ जिल्लामा संक्रमण र मृत्युका घटनाहरू पुष्टि भएका छन्।
महाशाखाको विश्लेषणअनुसार, मृतकहरूमध्ये अधिकांश (७४ प्रतिशत) ४० वर्षभन्दा माथिका र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप नलगाएका व्यक्तिहरू छन्।
उमेर समूहको आधारमा हेर्दा, ६० वर्षभन्दा माथिका १२ जना र २० देखि २९ वर्ष उमेर समूहका ८ जनाको मृत्यु भएको छ।
संक्रमित हुने अधिकांश व्यक्तिहरू धान खेत र बंगुर फार्म नजिक बसोबास गर्नेहरू पाइएको छ। जुन क्युलेक्स लामखुट्टेको प्रमुख प्रजनन स्थल पनि हो। संक्रमित हुने १५ वर्षमुनिका बालबालिका भने खोप लगाउन छुटेकाहरू रहेको पाइएको छ।
संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमले संक्रमणको जोखिम अझै तीन महिनासम्म रहने चेतावनी दिएका छन्। ‘क्युलेक्स लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले प्रत्येक व्यक्तिले टोकाइबाट बच्नु नै सबैभन्दा प्रभावकारी उपाय हो,’ डा. गौतमले भने, ‘राति सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्ने, दिनमा पूरा शरीर ढाक्ने कपडा लगाउने र घरवरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्छ।’
उनले धान खेत, खाल्डाखुल्डी भएका ठाउँ र बंगुर फार्म नजिक बसोबास गर्ने मानिसहरूले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए।
ज्वरो आउने, बान्ता हुने जस्ता लक्षण देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई उपचार गराउन र खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन उनले सबै अभिभावकलाई आग्रह गरेका छन्।
प्रकाशित: १५ भाद्र २०८२ २०:५७ आइतबार


-600x400.jpg)


