साहित्यकार कृष्ण बजगाईंको बालउपन्यास ‘स्यालको सिङ’ बजारमा आएको छ। नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यमा कलम चलाई नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील बजगाईंको यो ‘स्यालको सिङ’ बालउपन्यास ३१ औं साहित्यिक कृति हो।
यस उपन्यासमा स्यालको सिङ खोज्न निस्केका पाँच बालकले यात्रामा भोग्नुपरेका रोमाञ्चकारी र अनेपेक्षित घटना समेटिएका छन्।
रहस्यहरूले भरिपूर्ण यस उपन्यासले पाठकलाई कहिले हँसाउछ, कहिले तर्साउँछ र जीवन उपयोगी पाठहरू पनि पढाउँछ। विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि उपयोगी बालमनोविज्ञानमा आधारित यो उपन्यास ज्ञानवर्द्धक, शिक्षाप्रद र प्रेरणादायी छ।
यो उपन्यासले बालबालिकाको भाषिक क्षमता अभिवृद्धि गराउन पनि उपयोगी हुने छ।
लामो समयदेखि विदेशमा बसेर नेपाली भाषा साहित्यको उन्नयनमा क्रियाशील बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतको संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गरिरहेका छन्।
बियोन्ड स्टोरिज प्रालि काठमाडौंबाट रङीन चित्रसहित प्रकाशित ‘स्यालको सिङ’ बालउपन्यासको मूल्य ३५० रुपैयाँ छ।
प्रकाशित: ४ फाल्गुन २०८२ ०९:५० सोमबार

