६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आगामी सरकारको स्वास्थ्य बाचा

चुनौतीपूर्ण छन् तर असम्भव भने छैन

प्रतिनिधिसभा निर्वाचनमा बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार गठन हुँदै छ। निर्वाचनमा भाग लिएपछि रास्वपाले बाचापत्र सार्वजनिक गरेको थियो; जसमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने योजनासहित विभिन्न बुँदा समेटिएको छ । बाचापत्र निर्माणमा संलग्न पार्टीका संस्थापक सदस्य महेश्वर घिमिरेले बाचा पत्रमा उल्लेख गरिएका स्वास्थ्य बुँदा पूरा हुने दाबी गरेका छन् । उनले भने, ‘पार्टीले कार्यक्रम घोषणा गरेको हैन, बाचापत्र घोषणा गरेको हो । बाचा गर्नु भनेको पूरा हुने कार्यक्रम हुन्, ती पूरा हुन्छन्।’

घिमिरले पहिलो विषय त अघिल्लो सरकारले सञ्चालन गरेका कार्यक्रम अनुगमन गरी थप सदृढ बनाउँदै लगिने र नयाँ समावेश गरिएका नीति तथा कार्यक्रम पनि लागु गर्दै जाने बताए। एक वर्षभित्रमा सबै बाचालाई परिणामुखी बनाउँदै पूरा गर्ने उनले प्रतिबद्धता जनाए । सञ्चालनमा रहेका र आधारभूत स्वास्थ्य सेवामा नभएका जनशक्ति, औषधी व्यवस्थापन कार्यक्रमलाई नीतिगत सुधार गरी आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, भइरहेको जनशक्तिलाई उचित परिचालन गरी सेवा प्रभावकारी बनाउने गरी गृहकार्य भइरहेको पनि उनले बताए। ‘स्वास्थ्य जनशक्ति कागजमा भएको तर स्वास्थ्य संस्थामा नभएको सुनेका छौं, त्यसको पनि अनुगमन गरी आवश्यक जनशक्ति परिचालन गर्छौं’, घिमिरले भने।

घिमिरेले शतप्रतिशत नागरिकलाई बिमामा आबद्ध गर्न नसक्दा बिमा कोष कमजोर बनेकाले संकट उत्पन्न भएकाले सबै नागरिकलाई जन्मिनेबित्तिकै बिमामा आबद्ध गरी बिमा कार्यक्रमलाई बलियो बनाउने बताए। उनले भने, ‘अरू देशमा बिमा आम्दानीबाट सेवा दिएर पनि कम्पनी नाफामा हुन्छन्, तर हामीकहाँ सरकारले तिर्नु परिरहेको छ। यसको कारण सबै नागरिक बिमामा आबद्ध नभएर हो।’

विपन्न र अपांगता भएका नागरिकको हकमा स्थानीय सरकारसँग सहकार्य गरी स्थानीय सरकारले नै बिमा रकम तिर्ने प्रक्रिया मिलाइने उनले बताए। उनका अनुसार नागरिकको हैसियत स्थानीय सरकारलाई थाहा हुने भएकाले यो जिम्मेवारी स्थानीय तहलाई नै दिइने छ । कतिपय बाचा राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकायमार्फत पूरा गरिने घिमिरको भनाइ छ।

आगामी वर्षको स्वास्थ्य कार्यक्रमको बजेट तयार भइसकेकाले आगामी वर्षदेखि बाचा गरेका कार्यक्रम परिणाममा देखिन सुरु हुने बताए । उनले भने, ‘अहिले ढिला भइसकेको छ। अर्को वर्ष काम देखिन थाल्छ।’ उनका अनुसार पार्टीले गरेका बाचामध्ये स्वास्थ्य बिमा कार्यक्रमलाई सुदृढ गरी स्पष्ट मोडेलमा गुणस्तरय स्वास्थ्य सेवा  र आम नागरकको पहुँच सुनिश्चित गर्ने, सबै सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्ने कार्यक्रम रहेका छन्।

त्यसैगरी प्रत्येक प्रदेशमा विशिष्ट स्रोत केन्द्र स्थापना गर्ने, अपांगता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा प्रदान गर्न एकद्वारबाट अकुपञ्चरथेरापी, स्विचथेरापी र फिजियोथेरापी सेवा प्रदान गर्ने बाचापत्रमा उल्लेख छ । यसैगरी आधारभूत स्वास्थ्य सेवा व्यवस्थित गर्ने, मानसिक स्वास्थ्य महाशाखा स्थापना गर्ने, मानसिक स्वास्थ्य सेवालाई सबै जिल्ला अस्पतालमा चिकित्सकसहितको सेवा सुरु गर्ने कार्यक्रम पनि पत्रमा उल्लेख छ।

बाचा पूरा गर्न चुनौती

रास्वपाको नेतृत्वमा अब गठन हुने नयाँ सरकारले जनतासमक्ष बाचा गरेका स्वास्थ्य कार्यक्रम संविधानभित्र रहेर सञ्चालन गर्नुपर्ने भएकाले अतिरिक्त कार्यक्रम थप्नका लागि अहिलेको स्थितिमा चुनौतीपूर्ण भएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन्। सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम नै आर्थिक कारणले अलपत्र परिरहेको अवस्थामा थप कार्यक्रम ल्याउनुपूर्व स्रोतको सुनिश्चतता गर्नुपर्ने मरासिनीको विश्लेषण छ। उनले भने, ‘नयाँ कार्यक्रम सुरु गर्दा बजेट राष्ट्रिय स्रोतबाट हो या अन्तर्राष्ट्रिय अनुदानबाट हो, त्यो पहिल्यै सुनिश्चत हुनुपर्छ।’

अतिरिक्त कार्यक्रम लागु गर्न थप खर्ब बजेट आवश्यक पर्ने भएकाले सबै कार्यक्रम लागु हुन चुनौतीपूर्ण रहेको जानकार बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्र उपे्रतीले नयाँ सरकारको घोषित कार्यक्रम मुलुकका लागि आवश्यक भए पनि लागु गर्न चुनौतीपूर्ण रहेको बताए। ‘पहिला पनि छलफल भएका कार्यक्रम हुन्, तर बजेट अभावमा लागु हुन सकेका थिएनन्’, उनले भने।

नयाँ कर प्रणालीमार्फत बजेट निर्माण गर्न सकेमा वा दातृ निकायले प्रदान गरेको अवस्थामा भने नयाँ कार्यक्रम लागु गर्न सकिने उनको भनाइ छ।

प्रकाशित: ६ चैत्र २०८२ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App