राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा एक सय तीन वर्षीय(१०३) वृद्धाको टाउकोको सफल शल्यक्रिया भएको छ । कोटेश्वर ३२ की प्रेम कुमारी बानियाँको मस्तिष्कमा भएको रक्तश्रावको सफल शल्यक्रिया भएको हो ।
तत्कालै शल्यक्रिया गर्नुपर्ने भएकोले राति नै शल्यक्रिया भएको थियो ।
बानियाँलाई जटिल टाउको दुखाइको समस्या भएपछि वीरमा ल्याइएको थियो । शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पुगेकी बानियाँको शनिबार राति दुई बजे शल्यक्रिया भएको थियो ।
अस्पतालका न्यूरोसर्जरी विभागका प्रमुख डा. राजीव झासहित डा. समिर अर्याल, डा. नम्रता खड्गा, डा. आयुष विमली, नर्स सिन्धु गौतमलगायतको टोलीले शल्यक्रिया गरेको हो । एक घण्टाको अवधिमा शल्यक्रिया सम्पन्न भएको थियो । शल्यक्रियापछि बानियाँको स्वास्थ्यमा क्रमिक सुधार भएको अस्पतालका न्यूरोसर्जन डा. झाले बताए ।
‘अहिले उहाँ होसमा हुनुहुन्छ । बोल्न सक्नुहुन्छ र आफैँ खाना सक्नुहुन्छ’ अस्पतालका निर्देशक डा. दिलिप शर्माले भने ।
अस्पतालका अनुसार बानियाँ अस्पताल आउनु अघि बेहोस थिइन । परीक्षणको क्रममा मस्तिष्कमा रक्तश्राव भएको पहिचान भएको थियो । तर सय वर्ष भन्दा माथिको उमेर भएकोले शल्यक्रियामा उच्च जोखिम हुने भएकोले शल्यक्रिया गर्ने निर्णयमा कठिनाइ थियो । तर चिकित्सक र परिवारका सदस्यबीचको सहमतिपछि शल्यक्रिया गरिएको डा. झाले बताए ।
न्यूरो सर्जरीको यात्रामा एक सय वर्ष भन्दा बढी उमेरको वृद्धाको शल्यक्रिया गरेको पहिलो पटक भएको डा. झाले बताए । यस्तो जटिल शल्यक्रियामा सफलता मिल्दा खुशी भएको झा बताउँछन । ‘म र मेरो टिमले गर्व गरेका छौ’ डा. झाले बुधबार नागरिकसँग भने । चिकित्सा सेवामा लामो अनुभवमा दुइ वर्ष अघि ९८ वर्षको वृद्धको शल्यक्रिया भने गरेका थिए । तर सय वर्ष माथिको पहिलो सफलताले आफैँ चकित बनेको डा. झा बताउँछन । वृद्ध उमेरमा कुनै पनि शल्यक्रिया आफैँमा जोखिम हुन्छ नै । त्यसमाथि मस्तिष्कको शल्यक्रिया झनै जटिल मानिन्छ ।
‘वृद्धाहरुको अप्रेशन गर्दा–गर्दै मुटु, फोक्सो बन्द भएर मृत्यु हुन सक्छ’ उनले भने । जोखिम न्यूनीकरण गर्न मुटुको चाल, फोक्सो तथा अन्य अंङ्गको क्रियाकलाप मोनिटर( अनुगमन) गर्दै शल्यक्रियामा सावधानी अपनाइएको बताए ।
अस्पतालको अनुसार बानियाँमा पहिलादेखि नै वीर अस्पताल प्रति विश्वास भएकोले उपचारको लागि वीर पुर्याइएको थियो । बाँच्ने आशा गुमाएमा परिवारजन शल्यक्रियापछि चकित परेको अस्पतालले जनाएको छ । अस्पतालको अनुसार एक सय वर्ष माथिको व्यक्तिको शल्यक्रिया हुनु चिकित्सकीय पद्धतिमा विश्वमै दुर्लभ मानिन्छ ।
प्रकाशित: १६ पुस २०८२ १७:५९ बुधबार





