वर्षायाम सुरु भएसँगै कपिलवस्तुमा सर्पको बिगबिगी बढेको छ। पछिल्लो केही समययता जिल्लामा सर्पदंशका बिरामीको संख्या समेत बढ्दै गएको छ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार असार महिनामा मात्र सर्पदंशका २ सय ९१ जना बिरामी उपचारका लागि आएका छन्। तीमध्ये दुई जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको उनले बताए।
समयमै उपचार केन्द्रमा नल्याउनु, सर्पले टोकेको थाहा नपाउनु तथा झारफुकमा लाग्दा बिरामीको ज्यान जाने गरेको भण्डारीले बताए। गत आर्थिक वर्ष २०८२/०८३ मा केन्द्रमा सर्पले टोकेका १ हजार ४ सय ८० जना बिरामीको उपचार गरिएको थियो। उपचारका लागि केन्द्रमा ल्याउने क्रममा बाटोमै ६ जनाको मृत्यु भएको उनले जानकारी दिए।
आर्थिक वर्ष २०८१/०८२ मा भने केन्द्रबाट १ हजार ८ सय ४२ जनाले उपचार सेवा लिएका थिए। गत आर्थिक वर्ष गोमनले टोकेका ७७ जना, करेतले टोकेका ९३ जना, भाइपरले टोकेका ९६ जना, बिच्छीले टोकेका ४६ जना र अन्य ९ सय ४५ जना उपचारका लागि आएका थिए। तीमध्ये ३९ जना गम्भीर अवस्थामा रहेको र १५ जनालाई थप उपचारका लागि रेफर गरिएको थियो।
कपिलवस्तु अस्पतालमा समेत सर्पदंशका बिरामीको संख्या बढेको जनाइएको छ। झारफुक गर्ने, मुखले विष चुस्ने, चिरफार गर्ने तथा पम्प प्रयोग गर्नेजस्ता गलत अभ्यासका कारण उपचारमा ढिलाइ हुँदा बिरामीको ज्यान बचाउन कठिन हुने कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बताए।
स्वास्थ्यकर्मीका अनुसार सर्पले टोकेपछि समयमै उपचार नपाउँदा धेरैको ज्यान जाने गरेको छ। वैशाखदेखि भदौ महिनासम्म सर्पदंशका बिरामीको चाप बढी हुने गर्दछ। त्यसमध्ये पनि साउन र भदौ महिनामा सर्पले टोकेका बिरामीको संख्या अझ बढ्ने गोरुसिंगे सर्पदंश उपचार केन्द्रले जनाएको छ।
व्यवस्थापक भण्डारीले सर्पले टोकेपछि धेरैजसो बिरामी झारफुकमा लाग्ने र उपचारमा ढिलाइ गर्ने गरेको बताए। उनले विषालु किरा वा सर्पले टोकेमा तत्काल नजिकको स्वास्थ्य संस्था वा उपचार केन्द्रमा जान आग्रह गरे।
मुख्यतः भुइँमा सुत्दा सर्पले बढी डस्ने गरेको तथ्यांकले देखाएको छ। चिकित्सकहरूले सर्पले टोकेका बिरामीलाई सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुर्याउन सुझाव दिएका छन्।
सर्पदंशबाट बच्न घरवरपरको झाडी सफा गर्ने, भुइँमा नसुत्ने, झुलभित्र सुत्ने तथा घरभित्रका प्वालहरू टाल्नुपर्ने भण्डारीले बताए। उनले ढिलो उपचार गर्दा औषधिको मात्रा समेत बढ्ने जानकारी दिए।
“तुरुन्त उपचार गरिए एउटा बिरामीलाई २ वा ३ भाइल औषधिले पुग्छ, तर ढिलो आए एक जनालाई नै ३० भाइलसम्म औषधि लाग्न सक्छ,” उनले भने।
सर्पदंश उपचार केन्द्रसँग बुद्धभूमि, कपिलवस्तु र शिवराज नगरपालिकाले उपचारसम्बन्धी सम्झौता गरेका छन्। केन्द्रमा नेपाली सेनाको टोलीले प्राविधिक सहयोग गर्दै आएको छ।
अर्घाखाँची, प्युठान, दाङ, रुपन्देही, पाल्पा तथा कपिलवस्तुका सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आउने गरेका छन्। कोबरा, ब्ल्याक कोबरा र करेतलगायत विषालु सर्पको जोखिम जिल्लामा रहेको जनाइएको छ।
प्रकाशित: १८ श्रावण २०८३ १६:५० सोमबार





