रुसले इबोला भाइरस विरुद्ध खोप विकास गरेको दाबी गरेको छ। यो खोप विशेष गरी कङ्गो र युगान्डामा फैलिरहेको दुर्लभ ‘बुन्डीबुग्यो’ इबोला स्ट्रेनलाई लक्षित गरेर तयार गरिएको बताइएको छ।
दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले विकास गरेको उक्त खोपले देखिएको बुन्डीबुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना रहेको छ। रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै दूतावासले वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरुद्ध प्रभावकारी खोप तयार गरेको अन्तराष्ट्रिय समाचार संस्था एएनआईले उल्लेख गरेको छ।
रुसी वैज्ञानिकहरूले विशेष गरी कङ्गो क्षेत्रमा फैलिरहेको प्रकोपसँग सम्बन्धित बुन्डीबुग्यो स्ट्रेनविरुद्ध यो खोप उपयोगी हुन सक्ने दाबी गरेका छन्। तर हालसम्म बुन्डीबुग्यो इबोला स्ट्रेनको रोकथाम वा उपचारका लागि कुनै पनि खोप वा औषधिले औपचारिक अन्तर्राष्ट्रिय स्वीकृति प्राप्त गरेको छैन।
विज्ञहरूले खोप सफल भएमा भविष्यमा इबोला प्रकोप नियन्त्रण र विश्वव्यापी महामारी तयारीलाई मजबुत बनाउन सहयोग पुग्ने बताएका छन्। यद्यपि, खोपको प्रभावकारिता र सुरक्षासम्बन्धी विस्तृत क्लिनिकल डेटा सार्वजनिक गरिएको छैन।
विश्व स्वास्थ्य संगठनले मध्य अफ्रिकामा रोग तीव्र रूपमा फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ।
कङ्गो र युगान्डासँग सीमा जोडिएका देशहरू, विशेषगरी दक्षिण सुडान लगायतका क्षेत्रमा संक्रमण फैलिने जोखिम उच्च रहेको बताइएको छ।
प्रकाशित: १३ जेष्ठ २०८३ ११:५४ बुधबार





