१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बिचैमा औषधी छाड्नेबाट एचआइभी संक्रमणको जोखिम

सन्दर्भ: विश्व ३८औं एचआइभी दिवस

नेपालले सन् २०३० सम्ममा एचआइभी एड्सको महमारी नियन्त्रण गर्न ९५–९५–९५ एचआइभी जाँच र उपचार रणनीति लिइएको भए पनि दैनिक १.०७ जनामा एचआइभी संक्रमण हुने गरेको पछिल्लो तथ्यांक छ। ९५ लक्ष्यको अर्थ सन् २०३० सम्ममा ९५ प्रतिशत संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने, ९५ प्रतिशतले औषधी उपचारको पहुँचमा पुगेको हुनुपर्ने र ९५ प्रतिशतमा भाइरल लोड न्युन भएको स्थितिमा पुग्नुपर्ने भन्ने हो। तर पछिल्ला तथ्यांकअनुसार एचआइभी संक्रमितले आफ्नो रोगको अवस्था थाहा पाउने संक्रमितको संख्या ९०, उपचारमा पहुँचको अवस्था ८८ र शरीरमा एचआइभी भाइरल न्यून हुनेको संख्या ७६ प्रतिशत मात्र छ।

उल्लिखित लक्ष्य हासिल गर्न नेपालमा बिचैमा औषधि छाड्ने, उपचारमै नपुग्ने संक्रमितका कारण लक्ष्य हासिल गर्ने विषय चुनौतीपूर्ण बनेको राष्ट्रिय एचआइभी एड्स तथा यौन रोग केन्द्रले जनाएको छ। ३८औं विश्व एचआइभी दिवसका अवसरमा यस्तो औंल्याएका हुन्। दिवसका अवसरमा प्रस्तुति दिँदै राष्ट्रिय एचआइभी, एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. सुवास शर्माले भने, ‘मुख्य चुनौती बिचैमा हराउनेबाट भइरहेको छ।’ तथ्यांकअनुसार नेपालमा करिब ६ हजार जना संक्रमितले नियमित औषधी लिन सकेका छैनन्।

सामाजिक लाञ्छनाको डरले एचआइभी केन्द्रसम्म आएर औषधी लिन नआउने, नामथर फेरेर बिरामी नाम दर्ता गर्ने र अर्को पटक अर्कै नाम दर्ता गर्ने, भारतबाट संक्रमित भएर आउनेहरू औषधी सकिएपछि तीन/तीन महिनामा औषधि लिन आउन नसक्ने स्थितिले अहिले पनि लक्ष्यको बाटोमा चुनौती कायमै रहेको शर्माले बताए। साथै नियन्त्रणका लागि आवश्यक पर्ने निरन्तर बजेट तथा कार्यक्रमको कमी, एचआइभी संक्रमणमा प्रयोग हुने औषधी स्थानीय बजारमा उपलब्ध नहुनु, बाह्य बजेट घट्दै जानुजस्ता कारण पनि लक्ष्य हासिल चुनौतीपूर्ण बनेको उनले बताए। एचआइभी संक्रमितले बिचैमा औषधी सेवन नगरे शरिरमा एचआइभी भाइरल लोड बढी भई अरूलाई संक्रमण हुने जोखिम हुने भएकाले संक्रमितले त्यसलाई न्युन राख्नुपर्ने चिकित्सक बताउँछन्।

भाइरल लोड न्यून भएका व्यक्तिबाट यौन सम्पर्कमार्फत एचआइभी सर्ने जोखिम कम हुन्छ। तर एक पटक एचआइभी संक्रमण भइसकेका व्यक्तिबाट एचआइभी सर्ने जोखिम कायमै हुने हुुँदा कन्डमको प्रयोग गरी सुरक्षित यौन सम्पर्क राख्न आवश्यक रहेको निर्देशक शर्माले बताए। एचआइभी निवारणमा ९५ लक्ष्य हासिल गर्न अझै पनि केही चुनौती कायमै रहेकाले सबैको सहकार्य र समन्वयबाट मात्र निवारण सम्भव रहेको निर्देशक शर्माले बताए।

पछिल्लो तथ्यांकअनुसार नेपालमा हरेक दिन १.७ जना व्यक्तिमा नयाँ एचआइभी संक्रमण हुने गर्छ। प्रतिवर्ष २३ देखि २४ सय जनामा नयाँ एचआइभी संक्रमित फेला पर्ने गरेका छन्। नेपालमा सन् २०२४ को अन्त्यसम्ममा ३४ हजार तीन सय ३७ जनामा एचआइभी संक्रमित रहेको अनुमान गरिएको छ। हाल नेपालमा २७ हजार ५४ जनाले एन्टिरेट्रोभाइरल लिइरहेका छन्। कुल एचआइभी संक्रमितमध्ये ७७ प्रतिशतले मात्र एआरभी उपचार गरिरहेका छन्।

सन् २०१० को तुलनामा एचआइभी एड्सबाट मृत्यु हुनेको संख्या ७६ प्रतिशतले घटेको छ। सन् २०२४ मा एचआइभी एड्सका कारण पाँच सय ६९ जनाको मत्यु भयो। सन् २०१० मा एचआइभी एड्सका कारण २४ सय जनाको मृत्यु भएको थियो। सन् २००० मा पाँच हजार ६ सय जना नयाँ एचआइभी संक्रमित थपिएका थिए।

नेपालमा एचआइभी संक्रमणको जोखिम समूहमा सुईद्वारा लागुऔषध प्रयोगकर्ताहरू, यौनकर्मी, पुरुष समलिंगीहरू, तेस्रोलिंगी र रोजगारीका लागि विदेश जानेहरू हुन्। सन् २०२० को राष्ट्रिय सर्वेक्षण अनुसार नेपालमा सुईबाट लागूऔषध प्रयोग गर्नेहरूमा एचआइभी संक्रमणदर ३ प्रतिशत छ। त्यसैगरी सन् २०१८ भएको राष्ट्रिय सर्वेक्षणले महिला यौनकर्मीमा २.२ प्रतिशत र पुरुष यौनकर्मीमा ६.२ प्रतिशत एचआइभी संक्रमणदर हुने गरेको तथ्यांक छ।

प्रकाशित: १५ मंसिर २०८२ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App