७ पुस २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

जुम्लाको चन्दननाथ नगरपालिकामा एकहप्तादेखि एम्बुलेन्स सेवा सञ्चालन भएको छैन । जेन-जी प्रदर्शनका क्रममा आगजनी भएपछि एम्बुलेन्स चलेको छैन । जसले बिरामीलाई समस्या हुने गरेको छ ।  

अहिले नगरपालिकाको एम्बुलेन्स नहुँदा महँगोमा भाडाको गाडी प्रयोग गर्नुपर्ने बाध्यता रहेको गुनासो स्थानीयको छ । स्थानीय करबहादुर खत्रीले बिरामी बोक्ने एम्बुलेन्स प्रदर्शनकारीको निसाना बन्नु दुःखद् भएको बताए । उनले भने, ‘प्रदर्शनमा पनि कोही घाइते भएको भए त्यही एम्बुलेन्स चाहिने थियो होला । तर त्यही एम्बुलेन्स नै रहेन ।’  

‘अहिले चन्दननाथ नगरपालिकाको एम्बुलेन्सले सेवा दिइरहेको थियो,’ प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘अहिले बिरामी बोक्नुपर्नेदेखि महँगोमा गाडी रिजर्भ गरेर बिरामी अस्पताल पुर्याउनुपर्ने बाध्यता छ ।’

एम्बुलेन्सले नगरपालिकाभित्रका १० वटै वडाका बिरामी बोक्नुका साथै छिमेकी गाउँपालिका र जिल्लाका बिरामीसमेत बोकिरहेको थियो ।  

'फुर्सदको बेला जताका बिरामीले फोन गरे उत्तैका बिरामी बोकिरहेको थियो,' प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भने, ‘अहिले बिरामीका आफन्तले फोन गरिरहन्छन् तर एम्बुलेन्स तोडफोड भएकोले सेवा दिन सकिएको अवस्था छैन ।’

चन्दननाथ नगरपालिकाका अनुसार एम्बुलेन्सको बीमा शिखर इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । बीमाले पनि सर्भे गरिसकेको छ । ग्यारेजले स्टमेट गरेर पठाइसकेको छ । उनले भने, ‘बारम्बार बीमा कार्यालयमा गएर एम्बुलेन्स छिटो मर्मत गर्नुपर्ने भन्दै दबाब दिइरहेका छौं ।’  

नगरप्रमुख राजुसिंह कठायतले हप्ता दस दिनभित्रमा एम्बुलेन्स सञ्चालनमा ल्याउने दावी गरेका छन् ।  

प्रहरीको मुचुल्कासहित जाँच गर्दा एम्बुलेन्समा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगजनी तथा तोडफोडबाट नगरपालिकामा ९८ लाख ७३ हजार तीन सय ८३ रुपैयाँ बराबरको क्षति भएको छ ।  

सवारीसाधनमा सबैभन्दा बढी ७९ लाख ७३ हजार, मेसिनरी तथा कार्यालयका सामग्रीमा १३ लाख र भौतिक संरचनामा ६ लाख बराबरको क्षति भएको छ ।

प्रकाशित: १ आश्विन २०८२ २०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App