२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

पर्वतमा कुष्ठरोगीको सङ्ख्या घट्दै, चारजना उपचाररत

सांकेतिक तस्बिर

जिल्लामा पछिल्ला केही वर्षयता कुष्ठरोगीको सङ्ख्या घट्दै गएको छ। अहिले जिल्लामा चार जनामात्रै कुष्ठरोगी रहेका प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ। हाल चारैजना उपचाररत छन्।

तीन जनाले प्रदेश अस्पतालबाट नियमित उपचार तथा औषधि सेवन गरिरहेका छन् भने एक जनाले विहादीमा रहेको स्वास्थ्य केन्द्रबाट औषधि सेवन गर्दै आएका कार्यालयले जनाएको छ। ७३औँ विश्वकुष्ठरोग दिवसका अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको अन्तर्क्रियामा आर्थिक वर्ष २०७९/८० मा १५ जना कुष्ठरोगी रहेकामा सबै निको भइसकेका छन्।

आव २०८०/८१ मा छ जना नयाँ बिरामी पत्ता लागेका थिए। चालु आवको छ महिनासम्म चार जना पत्ता लागेकामा सबै उपचाररत रहेका कार्यालय प्रमुख बद्रीराज आचार्यले जानकारी दिए। पछिल्लो समय जनचेतना अभिवृद्धि हुँदै जानु, जाँच तथा खोजपड्तालको कार्यक्रम कम हुनुलगायत कारणले कुष्ठरोगीको सङ्ख्या घट्दै गएको उनको भनाइ छ।

कुष्ठरोगको जाँच तथा खोजीकार्य निकै झन्झटिलो रहेको बताउँदै अर्कोतर्फ बिरामी खुल्न नचाहने र समाजले हेर्ने दृष्टिकोणका कारण पनि समस्या भएको जिल्ला अस्पतालका डा मिलन अवालेले उल्लेख गरे। धार्मिक ग्रन्थले गरेको व्याख्या र सामाजिक दृष्टिकोणका कारण रोग लुकाउने समस्या समाजमा व्याप्त रहेको उनको भनाइ छ। कतिपय बिरामी सम्पर्कमा आउन नचाहेको पनि देखिएको छ।

कुष्ठरोग निवारणका लागि नयाँ कुष्ठरोगीको पहिचान गर्ने, उपचार गराइसकेका ठाउँमा फेरि जाँचबुझ गर्ने, विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्ने र समयमै नागरिकलाई सुसूचित गराउँदै आएको कार्यालय प्रमुख आचार्यले बताए।

कुष्ठरोगका बारेमा समाजमा अझै पनि गलत धारणा रहेको बताउँदै समयमै उपचार गर्नसके कुष्ठरोग निको हुने डा अवालेले जानकारी दिए। सदरमुकाम कुश्मा आसपासका बिरामी रहेकाले जनचेतनासँगै बिरामीको उपचार गराउने उदाशिनताका कारण यो रोग निर्मूल पार्न नसकिएको उनको भनाइ छ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले जुनसुकै रोग लागे पनि व्यक्ति संवेदनशील हुनुपर्नेमा जोड दिए। कुष्ठरोगलाई पनि अन्य रोगसरह हेर्नुपर्ने बताउँदै यसका लागि समाजमा सचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ।

प्रकाशित: १३ माघ २०८२ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App