जुम्लाको सिंजा गाउँपालिका-६ को जोडु दाँतस्थित माध्यमिक विद्यालयको प्राङ्गण मंगलबार बिहानदेखि साँझसम्म गाउँलेहरूको उत्साह र आशाले भरियो।
वर्षौँसम्म सामान्य उपचारका लागि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता, स्वास्थ्य चौकीको दूरी र विशेषज्ञ चिकित्सकको अभाव यी सबै पीडा हल्का भयो।
स्थानीय बासिन्दा पहिलोपटक आफ्नै गाउँमै विशेषज्ञ टोलीको उपस्थिति देखेर उन्मुक्त हाँसो र उत्साहले भरिए। २ सय ७२ जना स्थानीयले निःशुल्क स्वास्थ्य शिविरमा प्रत्यक्ष लाभ उठाए।

धेरै सहभागी महिलाहरू थिए।१ सय ५२ जनाले स्त्रीरोग तथा पाठेघरसम्बन्धी जाँच गराए।
सामान्य चिकित्सकीय परीक्षणमा रक्तचाप, चिनी जाँच, श्वासप्रश्वास, पेट र छालासम्बन्धी परीक्षण ५५ जनाले गराए। शिविरमा ६० किशोर–किशोरीले प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र परिवार नियोजनसम्बन्धी परामर्श पाएका थिए।शिविर सिंजा गाउँपालिका, पेस नेपाल, प्लान इन्टरनेशनल नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा आयोजना गरिएको थियो।

प्रकाशित: १७ मंसिर २०८२ १६:१७ बुधबार





