सरकारले आयुर्वेद चिकित्सा पद्धतिको ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गरी बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत भएसँगै यो कार्यक्रम देशभरका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थामा लागू हुनेछ।
स्वर्णबिन्दु प्राशन आयुर्वेदको एक प्राचीन विधि हो। जसमा स्वर्ण भष्म (सुनको मसिनो धूलो), घिउ र मह मिसाएर बनाइएको लेहलाई थोपाको रूपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइन्छ।
यो विधिले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सघाउनुका साथै रोगसँग लड्ने क्षमता (इम्युनिटी) बढाउने विश्वास आयुर्वेद चिकित्सकहरूको छ।
भदौ १ गते स्वीकृत ‘स्वर्ण प्राशन निर्देशिका’ अनुसार यो कार्यक्रम प्रत्येक महिना ‘पुष्या नक्षत्र’ परेको दिन सञ्चालन हुनेछ। बालबालिकालाई आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा मात्र स्वर्णबिन्दु प्राशन गराइनेछ।
यद्यपि, ज्वरो आएका, झाडापखाला लागेका, रुघाखोकी वा कुनै पनि प्रकारको स्वास्थ्य समस्या भएका बालबालिकालाई भने यो कार्यक्रममा सहभागी गराइने छैन।
यस वर्षदेखि राष्ट्रिय कार्यक्रमका रूपमा सुरु गरिएको यो अभियानलाई आगामी वर्षहरूमा आयुर्वेद स्वास्थ्य संस्था भएका सबै स्थानीय तहमा विस्तार गर्ने योजना रहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ।
पहिलो चरणमा काठमाडौंका नरदेवी, त्रि.वि. आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, बुढानीलकण्ठसहित दाङ, झापा, पर्सा, पोखरा, सुर्खेत लगायतका २१ भन्दा बढी प्रमुख आयुर्वेद अस्पताल तथा स्वास्थ्य केन्द्रबाट यो सेवा सुरु गरिनेछ।
प्रकाशित: २ भाद्र २०८२ २०:२६ सोमबार





