सरकारले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिबाट प्रभावित हुनसक्ने नेपाली नागरिकको राहत र उद्धारका लागि सबै प्रकारका उपायहरू अपनाइने स्पष्ट पारेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रमुख रोजगार गन्तव्यका रूपमा रहेका मध्यपूर्वका देशहरूको अवस्थाप्रति सरकार अत्यन्त चनाखो रहेको जनाएको हो।
मन्त्रालयका सहायक प्रवक्ता मेघनाथ रिमालद्वारा जारी विज्ञप्तिमा नेपाली कामदारको सुरक्षा र आवश्यकता अनुसार उद्धारमा कुनै कसर बाँकी नराख्ने विश्वास दिलाइएको छ।
मन्त्रालयले युद्धको अवस्था समाप्त भई परिस्थिति सुधार नहुँदासम्म परराष्ट्र मन्त्रालय र सम्बन्धित क्षेत्रमा रहेका नेपाली नियोगहरूको आधिकारिक सूचनामा मात्र विश्वास गर्न अपिल गरेको छ।
‘गन्तव्य मुलुकले जारी गरेका सुरक्षा सावधानीहरूको पूर्ण पालना गर्न र नेपाली कूटनीतिक नियोग एवं कन्सुलरहरूसँग नियमित सम्पर्कमा रहन मन्त्रालय अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: १७ फाल्गुन २०८२ १७:२६ आइतबार





