१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

भ्रम र उत्तेजनाले देश बन्दैन, समृद्धिका लागि एमालेको जित अपरिहार्य: पृथ्वीसुब्बा

नेकपा एमालेका उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अफवाह र उत्तेजनाले देश नबन्ने भन्दै समृद्धिको यात्रा अघि बढाउन एमालेको जित अपरिहार्य रहेको बताएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा आइतबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै गुरुङले यस्तो बताएका हुन्।

उनले राष्ट्रलाई अराजकता र अस्थिरताबाट मुक्त गर्न स्पष्ट दृष्टिकोण र स्थिर नेतृत्व आवश्यक पर्नेमा जोड दिएका छन्।

‘अफवाह, झुट र उत्तेजनाले देश बन्दैन। स्पष्ट दृष्टिकोण, स्थिर नेतृत्व र नीतिगत दृढताले मात्र देश बन्छ,’ मतदातालाई अपिल गर्दै गुरुङले भनेका छन्, ‘त्यसैले कुनै भ्रममा नपरी विवेकपूर्ण निर्णय गर्न म सम्पूर्ण मतदातामा हार्दिक आग्रह गर्दछु।’

लमजुङको विकास र समृद्धि नै आफ्नो राजनीतिक यात्राको मूल उद्देश्य रहेको प्रष्ट पार्दै गुरुङले विगतमा आफू गण्डकी प्रदेशको मुख्यमन्त्री र संघीय मन्त्री हुँदा सुरु गरेका कामहरूलाई पूर्णता दिनु आफ्नो पहिलो प्राथमिकता रहेको बताए।

‘ती जिम्मेवारीमा रहँदा सुरु गरिएका थुप्रै विकासका आधारहरू आज जिल्लाका विभिन्न स्थानमा देख्न सकिन्छ। तीमध्ये केही काम अझै अधुरा छन्, र तिनलाई पूर्णता दिनु मेरो पहिलो प्राथमिकता हो,’ अपिलमा भनिएको छ।

उनले विकास, स्थायित्व र सुशासनलाई संस्थागत गर्दै समुन्नत लमजुङ निर्माण गर्ने आफ्नो प्रतिबद्धता रहेको दोहोर्‍याएका छन्।

माघ ६ गते उम्मेदवारी दर्ता गरेदेखि निरन्तर घरदैलोमा रहे पनि समय अभावका कारण सबै टोलबस्तीमा पुग्न नसकेको भन्दै नेता गुरुङले जनताको माया र विश्वासले आफूलाई अझ दृढ बनाएको बताएका छन्।

आफू भौतिक रूपमा सबै ठाउँमा पुग्न नसके पनि आफ्नो संकल्प र भावना सधैं लमजुङका जनतासँगै रहेको उनले विश्वास दिलाएका छन्।

जनताको शक्ति नै सबैभन्दा ठूलो शक्ति भएको स्मरण गर्दै गुरुङले विगतका कठिन मोडहरूमा जस्तै यसपटक पनि लमजुङवासीको अटुट साथ मिल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ १७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App